ठेकेदारको ‘खुट्टा भाँच्ने’ पूर्वाधार मन्त्री लम्सालको धम्की
काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नौबिसे-मलेखु सडकखण्डमा बिजुलीका पोल स्थानान्तरणको काममा ढिलाइ भएको विषयमा ठेकेदारप्रति दिएको अभिव्यक्ति विवादमा परेको छ। आइतबार सडकखण्डको स्थलगत अनुगमनका क्रममा उनले ठेकेदारको ‘खुट्टा भाँचिदिने’ सम्मको अभिव्यक्ति दिएका हुन्।
नागढुंगा-मुग्लिन सडक विस्तार आयोजनाको प्रगति मूल्याङ्कन गर्न धादिङ पुगेका मन्त्री लम्सालले पूर्वी खण्डअन्तर्गत घाटबेसी क्षेत्रमा अनुगमन गर्ने क्रममा उक्त प्रतिक्रिया दिएका थिए। सो क्रममा सडक निर्माणमा भइरहेको ढिलाइबारे जानकारी लिँदा बिजुलीका पोल सार्ने कार्य समयमै सम्पन्न नभएको विषय उठाइएको थियो।
अनुगमनका क्रममा मन्त्री लम्सालले पोल सार्ने जिम्मा लिएको ठेकेदारलाई खोजेर ल्याउन निर्देशन दिँदै काममा पुनः ढिलाइ भए कडा कारबाही गर्ने चेतावनी दिएका थिए। उनले प्रयोग गरेको भाषा भने यतिबेला सामाजिक सञ्जालमा व्यापक चर्चाको विषय बनेको छ।
घटनाको भिडियो सार्वजनिक भएपछि मन्त्रीको अभिव्यक्तिको पक्ष र विपक्षमा बहस सुरु भएको छ। केहीले निर्माण कार्यमा भइरहेको ढिलाइप्रति मन्त्रीको असन्तुष्टि स्वाभाविक भएको बताएका छन् भने कतिपयले सार्वजनिक पदमा रहेका व्यक्तिले संयमित भाषा प्रयोग गर्नुपर्ने टिप्पणी गरेका छन्।
सडक निर्माणको जिम्मा पाएका ठेकेदार कम्पनीका प्रतिनिधि तथा आयोजनाका अधिकारीहरूले भने नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको ठेकेदार कम्पनीले बिजुलीका पोल समयमै स्थानान्तरण नगर्दा निर्माण कार्य प्रभावित भएको जानकारी मन्त्रीलाई गराएका थिए।
नागढुंगा-मुग्लिन सडकखण्ड देशकै व्यस्त राजमार्गमध्ये एक भएकाले यसको विस्तार कार्यमा भइरहेको ढिलाइप्रति सर्वसाधारण र सरोकारवालाको चासो बढ्दै गएको छ।
