बेलायतमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा रोक
बेलायतका प्रधानमन्त्री किर स्टार्मरले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न रोक लगाउने व्यापक नीति घोषणा गरेका छन्।
सरकारले यसलाई बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउने ‘ऐतिहासिक’ कदम भएको बताएको छ। स्टार्मरले भिडियो सन्देशमार्फत सामाजिक सञ्जालले बालबालिकालाई मानसिक रूपमा असर पारिरहेको भन्दै अभिभावक र प्रधानमन्त्री दुवै भूमिकाबाट यस्तो निर्णय आवश्यक भएको बताए।
सरकारी विवरणअनुसार यो प्रतिबन्ध स्न्यापच्याट, टिकटक, युट्युब, इन्स्टाग्राम, फेसबुक र एक्सजस्ता प्रमुख प्लेटफर्ममा लागू हुनेछ। तर ह्वाट्सएप र सिग्नलजस्ता मेसेजिङ सेवाहरू भने यस प्रतिबन्धबाट बाहिर रहनेछन्।
सरकारले यो निर्णय विश्वव्यापी दबाब र अन्य देशको नीतिबाट प्रभावित भएको जनाएको छ। अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने कानुन लागू गरेपछि बेलायतले पनि समान कदम अघि बढाएको हो।
बेलायतमा गरिएको राष्ट्रिय परामर्श सर्वेक्षणमा १ लाख १६ हजारभन्दा बढी प्रतिक्रिया प्राप्त भएका थिए। त्यसमा ८३ प्रतिशत अभिभावकले सामाजिक सञ्जालको जोखिम फाइदाभन्दा बढी रहेको बताएका थिए भने ९० प्रतिशतले १६ वर्षभन्दा कम उमेरमा पहुँच रोक्नुपर्ने पक्षमा समर्थन जनाएका थिए।
सरकारले यो नीति लागू गर्न संसदमा विधेयक पेस गर्ने र आउँदो वसन्तदेखि कार्यान्वयन गर्ने तयारी गरेको छ। साथै, लाइभ स्ट्रिमिङ र अपरिचित व्यक्तिसँग सम्पर्क गर्ने सुविधामा पनि १६ वर्षमुनिका लागि प्रतिबन्ध लगाइनेछ।
उमेर प्रमाणीकरण प्रणालीलाई बालबालिकाले बाइपास गर्न सक्ने चुनौती रहेको भन्दै यसको कार्यान्वयन कठिन हुने अपेक्षा गरिएको छ।
यसैबीच सरकारले बालबालिकालाई डिजिटल स्क्रिनबाट टाढा राख्दै खेलकुद, कला र प्रकृतिसम्बन्धी गतिविधिमा सहभागी गराउने उद्देश्यले ‘एभरी चाइल्ड क्यान’ नामक १३ करोड २५ लाख पाउन्डको कार्यक्रम पनि घोषणा गरेको छ।
यसअघि एप्पल र गुगलजस्ता प्रविधि कम्पनीलाई बालबालिकाले अनलाइनमा अश्लील सामग्री हेर्न, पठाउन वा प्राप्त गर्न नपाउने सुरक्षा प्रणाली विकास गर्न निर्देशन दिइएको थियो। त्यसका लागि कम्पनीहरूलाई तीन महिनाको समय दिइएको छ।
