प्रशासकीय अधिकृतविरुद्ध ७२ हजार घुस प्रकरणमा मुद्दा
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवविरुद्ध विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ।
सडक ढलान योजनाको भुक्तानीसँग सम्बन्धित प्रक्रियामा सेवाग्राहीसँग घुस लिएको आरोप उनीमाथि लागेको हो।
आयोगका अनुसार योजना सम्पन्न भइसकेपछि पनि भुक्तानी रोक्दै विभिन्न बहाना बनाइ सेवाग्राहीसँग ७२ हजार रुपैयाँ घुस माग गरिएको थियो। सोही सूचनाका आधारमा अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको बताइएको छ।
अनुसन्धानमा उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसारको कसुर पुष्टि भएको आयोगले जनाएको छ।
अख्तियारले ७२ हजार रुपैयाँ बिगो कायम गर्दै सोही बराबरको जरिवाना तथा कैद सजायको मागसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।
