`

रास्वपा महाधिवेशन दुर्लभ दृश्य : पाँच दलका पाँच शिर्ष नेता एकै ठाउँ उभिँदै

Nepal One HD ७ असार २०८३ १२:३६
बिशेष

चितवन। चितवनको भरतपुरमा आजदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा एक दुर्लभ दृश्य देखिने भएको छ। 

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक पाँच प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू एउटै मञ्चमा देखिन लागेका हुन्।

रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा सुरु भएको महाधिवेशनको उद्घाटन समारोहमा सत्ता-प्रतिपक्षका प्रमुख नेताहरूको उपस्थिति रहेको छ।

पार्टीका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री बालेन शाहले औपचारिक रूपमा महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। उद्घाटनमा उनले प्रतीकात्मक रूपमा ‘घण्टी बजाएर’ कार्यक्रम सुरु गर्ने बताइएको छ।

उद्घाटन सत्रमा नेपाली कांग्रेसका सभापति गगन थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत तथा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी हुने भएका छन्। रास्वपा महाधिवेशनमा सहभागी हुन उनीहरू आ-आफ्ना पार्टीका तर्फबाट शुभकामना मन्तव्य दिन चितवन पुगेका हुन्।

राजनीतिक विश्लेषकहरूले यस घटनालाई पछिल्लो निर्वाचनपछिको शक्ति सन्तुलन र दलहरूबीचको संवादको नयाँ संकेतका रूपमा हेरिरहेका छन्। एकै मञ्चमा प्रमुख दलका नेताहरूको उपस्थिति देखिनु नेपाली राजनीतिमा सहकार्य र प्रतिस्पर्धा दुवैको मिश्रित संकेत भएको टिप्पणी भइरहेको छ।

रास्वपा २०७९ को प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय राजनीतिमा तीव्र रूपमा उदाएको दल हो। पहिलो निर्वाचनमै २० सिट जित्दै चौथो ठूलो दल बनेको रास्वपाले पछिल्लो फागुन २१ को निर्वाचनपछि जनमतमा उल्लेखनीय वृद्धि गर्दै राजनीतिक प्रभाव अझ विस्तार गरेको देखिन्छ।

यस महाधिवेशनलाई पार्टीले संगठन विस्तार, नीतिगत स्पष्टता र आगामी राजनीतिक रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।

उद्घाटन सत्रमै शीर्ष नेतृत्वको व्यापक सहभागिताले महाधिवेशनलाई थप राजनीतिक महत्व दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *