रास्वपा महाधिवेशनमा मिलन लिम्बूको केन्द्रीय सदस्यमा उम्मेदवारी
काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम केन्द्रीय महाधिवेशनमा नेता मिलन लिम्बूले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।
‘विचारसहितको नेतृत्व’ भन्ने नारासहित केन्द्रीय सदस्य पदमा नेता लिम्बूले उम्मेदवारी घाेषणा गरेका हुन् । युवा नेता लिम्बू पार्टीभित्र नीतिगत बहस, संगठन विस्तार तथा प्रचारात्मक जनसम्पर्क युवा नेतृत्वको विकासमा योगदान पुर्याउने उद्देश्यले आफू केन्द्रीय सदस्य पदमा उम्मेदवार बनेको उनको भनाइ छ।
रास्वपाको पहिलो महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा भइरहेको छ। महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी राजनीतिक कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ। यसै क्रममा विभिन्न पदका लागि नेताहरूले उम्मेदवारी घोषणा गरिरहेका छन्।
मिलन लिम्बू रास्वपाभित्र सक्रिय युवा नेताका रूपमा परिचित छन्। पार्टीको संगठन निर्माण, जनसम्पर्क विस्तार तथा विभिन्न राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका उनले केन्द्रीय समितिमा पुगेर पार्टीलाई थप संस्थागत र सशक्त बनाउन भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्।
महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिहरूले नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अन्तर्गत विभिन्न पदका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ। केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका लिम्बूले प्रतिनिधिहरूसँग समर्थनको अपिल गर्दै पार्टीलाई वैचारिक, संगठनात्मक र राजनीतिक रूपमा थप मजबुत बनाउन आफू प्रतिबद्ध रहेको बताएका छन्।
रास्वपाले पहिलो महाधिवेशनमार्फत पार्टी संरचनालाई थप व्यवस्थित गर्दै आगामी राजनीतिक यात्राको खाका कोर्ने तयारी गरिरहेको बेला लिम्बूको उम्मेदवारीलाई पनि महाधिवेशनभित्रको एक महत्वपूर्ण प्रतिस्पर्धाका रूपमा हेरिएको छ।
