अमेरिकाको २५०औँ स्वतन्त्रता दिवसमा युट्युबका नयाँ-नयाँ फिचरहरू
काठमाडौं। युट्युबले अमेरिकाको २५०औँ स्वतन्त्रता दिवसको अवसरमा प्रयोगकर्ताका लागि विभिन्न नयाँ फिचरहरू सार्वजनिक गरेको छ।
कम्पनीले विशेष ‘अमेरिका २५०’ हब, इन्टरएक्टिभ गेम्स र विशेष दृश्य इफेक्टहरू समावेश गरेको जनाएको हो।
युट्युबका अनुसार ‘अमेरिका २५० हब’ मार्फत यस उत्सवसँग सम्बन्धित भिडियो, लाइभस्ट्रिम र सिफारिस गरिएका सामग्री एकै ठाउँमा हेर्न सकिनेछ। यो हबले प्रयोगकर्तालाई छुट्टै रूपमा क्युरेट गरिएको कन्टेन्ट उपलब्ध गराउनेछ।
त्यस्तै, उत्सवलाई थप आकर्षक बनाउन युट्युबले तीनवटा इन्टरएक्टिभ गेम पनि थपेको छ। ‘फूड र्याङ्कर’ गेममार्फत अमेरिकी परिकारहरूलाई तुलना गरी र्याङ्क गर्न सकिनेछ भने ‘फायरवर्क्स’ गेममा स्क्रिन ट्याप गरेर आतसबाजी प्रदर्शन अनलक गर्न सकिनेछ। २५० अंक पूरा गरेपछि विशेष फायरवर्क्स शो पनि खुल्नेछ।
अर्को गेम ‘कलरिङ बुक’ मा प्रयोगकर्ताले अमेरिकाका राष्ट्रिय निकुञ्जहरूको दृश्यमा आफूअनुसार रंग भर्न सक्ने सुविधा दिइएको छ, जसले भर्चुअल रूपमा प्राकृतिक दृश्य अनुभव गराउनेछ।
युट्युबले यस अवसरमा आफ्नो लोगोसमेत विशेष ‘अमेरिका २५०’ डिजाइनमा परिवर्तन गर्ने जनाएको छ।
कम्पनीका अनुसार यी फिचरहरूले प्रयोगकर्तालाई डिजिटल रूपमा उत्सवमा जोड्न मद्दत गर्ने अपेक्षा गरिएको छ।
