‘नेपाली ब्रो’को बयान – आवेगमा श्रीमतीको घाँटी रेटेँ, [पूर्णपाठ]
काठमाडौं। पत्नी हत्या अभियोगमा पक्राउ परेका सामाजिक सञ्जालमा ‘नेपाली ब्रो’ नामबाट परिचित कुमार थापामगरले अनुसन्धानका क्रममा दिएको बयान सार्वजनिक भएको छ।
बयानमा उनले लामो समयदेखि चलेको वैवाहिक विवाद, आपसी अविश्वास, अदालतमा विचाराधीन मुद्दा तथा घटनाकै दिनको मानसिक तनावका कारण आफूले पत्नी ईश्वरी भुजेलको हत्या गरेको स्वीकार गरेका हुन्।
बयानअनुसार थापामगर नेपाली सेनामा कार्यरत रहँदा ईश्वरी भुजेलसँग चिनजान भएको थियो। तालिमकै क्रममा उनीहरूबीच प्रेम सम्बन्ध विकसित भएपछि विवाह भएको उनले बताएका छन्। विवाहपछि श्रीमतीको अघिल्लो सम्बन्धबारे विभिन्न कुरा सुने पनि त्यसलाई खासै महत्व नदिएको उनले उल्लेख गरेका छन्।
पछि नेपाली सेनाको जागिर छाडेर वैदेशिक रोजगारीमा गएको, नेपाल फर्किएपछि रेस्लिङ र सामाजिक सञ्जालमार्फत ‘नेपाली ब्रो’का रूपमा चर्चित बनेको उनले बयानमा उल्लेख गरेका छन्। सामाजिक सञ्जालमा विभिन्न युवतीसँग भिडियो बनाउने क्रममा श्रीमतीसँग पटक-पटक विवाद र मनमुटाव बढ्दै गएको उनको भनाइ छ।
उनले करिब दुई वर्षअघि प्रतिक्षा आचार्यसँग टिकटकमार्फत चिनजान भएको, पछि प्रेम सम्बन्धमा परिणत भएको तथा विभिन्न स्थानमा सँगै घुमघाम र बसोबाससमेत गरेको स्वीकार गरेका छन्। यही सम्बन्धका कारण श्रीमतीसँग पटक–पटक झगडा, प्रहरीमा उजुरी, मिलापत्र तथा अदालतसम्म मुद्दा पुगेको बयानमा उल्लेख छ।
थापामगरका अनुसार श्रीमतीले वैवाहिक करणी सम्बन्धी मुद्दा दायर गरेपछि सम्बन्ध झन् बिग्रिएको थियो। त्यसपछि सम्बन्ध विच्छेदको मुद्दासमेत अदालतमा पुगेको र आफूले भने मिलापत्र गरेर सँगै बस्ने प्रयास गरिरहेको उनले बताएका छन्।
घटनाको दिन अदालतमा पेशी तोकिएको भए पनि श्रीमती उपस्थित नभएको, त्यसपछि साथीहरूसँग समय बिताएर साँझ घर पुगेको र त्यहाँ पनि घरमा काम गर्ने युवती तथा छोरासँग विवाद भएको उनले बताएका छन्। त्यसपछि अत्यधिक रिस र तनावको अवस्थामा गाडी लिएर निस्किएको उनको भनाइ छ।
पैयुटार क्षेत्रमा गाडी चलाइरहेका बेला श्रीमती स्कुटरमा घर फर्किरहेको देखेपछि आफूले पछ्याएको उनले स्वीकार गरेका छन्। गाडीमा सधैं बोक्ने गरेको धारिलो बटनवाला चक्कु निकालेर श्रीमतीको पछि गएको र सुनसान स्थानमा पुगेर घाँटीमा प्रहार गरी हत्या गरेको बयानमा उल्लेख छ।
हत्यापछि घटनास्थल नजिकै चक्कु फालेर गाडीमा फर्किएको र त्यसपछि त्यहाँबाट निस्किएको उनले बताएका छन्। अनुसन्धानका क्रममा बरामद भएको चक्कु आफूले प्रयोग गरेको हतियार नै भएको पनि उनले स्वीकार गरेका छन्।
थापामगरले आफ्नो बयानमा घटनामा अन्य कसैको संलग्नता नरहेको दाबी गरेका छन्। साथी पुजन थापा क्षेत्री, प्रतिक्षा आचार्य तथा आफ्ना भाइ बिक्रम थापामगरलाई घटनासँग जोड्न नहुने भन्दै उनीहरूलाई सम्बन्धबारे मात्र जानकारी रहेको उल्लेख गरेका छन्।
यस्तै, घटनास्थल वरपरको सिसिटिभी फुटेजमा देखिएको व्यक्ति आफू नै रहेको, स्कुटरमा रहेकी महिला आफ्नी पत्नी ईश्वरी भुजेल भएको तथा फुटेजमा देखिएको गतिविधि घटनाकै समयको भएको उनले स्वीकार गरेका छन्।
अन्त्यमा उनले पत्नीको हत्या आफूले नै गरेको स्वीकार गर्दै ‘कानुनबमोजिम सहन-भोग्न तयार रहेको’ बयान दिएका छन्।
यस्तो छ उनको बयान :
मेरो जन्म नुवाकोटमा भई बाल्यकालको शिक्षा–दीक्षा गाउँघरमै भई नुवाकोटस्थित घरमा बस्दै आइरहेकोमा करिब २०६१/६२ सालतिर नेपाली सेनाको अन्य दर्जामा भर्ती भएको थिएँ। ६ महिनाको आधारभूत तालिम सकिसकेपछि सिंहदरबारस्थित ब्याण्ड गुल्ममा बिगुल तालिम गर्ने बेलामा निज ईश्वरी भुजेलसँग चिनजान भएको थियो। सो समयमा निज ईश्वरी भुजेल सिपाही दर्जामा कार्यरत थिइन्।
बिगुल तालिममै हुँदा निजसँग माया–प्रेम बसी मैले प्रेम विवाह गरेको थिएँ। विवाह गरेको केही महिनापछि म तालिम सकी आफ्नो छाउनीस्थित रेन्जर गणमा गईसकेपछि साथीभाइहरूले मैले निज ईश्वरी भुजेलसँग विवाह गर्नुअघि निज कसैसँग एक वर्ष लिभिङ टुगेदरमा बसेको भनी कुरा सुनाए। साथीभाइहरूले यस्तो कुरा सुनाएपछि म तनावमा परेर ६ नं. वाहिनी अड्डा बैरेनी, धादिङमा सरुवा मिलाई गएको थिएँ।
श्रीमती ईश्वरी भुजेल पहिले लिभिङ टुगेदरमा बसेको कुरा सुने पनि विवाह गरिसकेकाले सुनेका कुराहरूको भरमा त्यति धेरै चासो दिइनँ। करिब ६/७ वर्षजति जागिर खाइसकेपछि नेपाली सेनाको जागिर छाडी उपदान आएको रकम र अरू आफूसँग भएको पैसाले काठमाडौं जिल्ला तारकेश्वर नगरपालिका वडा नं. ६ पैयुटारमा हाल घर रहेको घडेरी किनी निज श्रीमती ईश्वरी भुजेलको नाममा गरेको थिएँ। मेरो जेठो छोरा जेनिस थापाको जन्म भइसकेपछि करिब १०/१२ वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशहरूमा गई आजभन्दा करिब ५ वर्षअघि नेपाल आएको थिएँ। त्यसपछि कान्छो छोरा ईभान थापाको जन्म भएको थियो।
नेपाल आईसकेपछि रेस्लिङ खेल खेल्नुका साथै सामाजिक सञ्जाल टिकटकमा सक्रिय भई ‘नेपाली ब्रो’को नामले भाइरल भएको थिएँ। म टिकटक तथा सामाजिक सञ्जालमा भाइरल भएपछि मेरा थुप्रै फलोअर्स भए। भाइरल हुनुका साथै रेस्लिङ खेल खेल्न विदेशमा समेत गएको थिएँ। सामाजिक सञ्जालमा भाइरल भएपछि विभिन्न मानिसहरूसँग चिनजान तथा भेटघाट हुन थाल्यो। जसमध्ये थुप्रै केटी साथीहरूसँग पनि भेटघाट तथा चिनजान भएपछि मैले भ्युज बढाउनका निमित्त विभिन्न केटीहरूसँग विभिन्न प्रकारका भिडियोहरू अपलोड गर्ने गरेको थिएँ।
मैले केटीहरूसँगका विभिन्न किसिमका भिडियोहरू सामाजिक सञ्जालमा अपलोड गरेपछि श्रीमती ईश्वरी भुजेललाई मन परेन र निजले अनेक शंका–उपशंका गर्न थालेपछि हामीबीच मनमुटाव, वादविवाद एवं पारिवारिक कलह सुरु भएको थियो। पारिवारिक कलह भए तापनि पुनः मेलमिलाप गरी सँगै बस्दै आइरहेका थियौँ। श्रीमती ईश्वरी भुजेलले सेनाको नोकरी तथा शान्ति सेनामा गई केही रकम कमाउनुका साथै मैले समेत सामाजिक सञ्जालमार्फत एवं विज्ञापन गरी रुपैयाँ–पैसा कमाई पैयुटारमा घर बनाई सँगै बस्दै आइरहेका थियौँ।
केही समयपछि मैले पनि निज श्रीमती ईश्वरी भुजेलको पनि कसैसँग गलत सम्बन्ध रहेको भन्ने सुनेँ। त्यसपछि म पनि निज श्रीमतीलाई शंका–उपशंका गर्न थालेपछि हामीबीच झन् मनमुटाव भइरहेको अवस्थामा करिब दुई वर्षअघि यसै मुद्दामा थुनामा रहेकी प्रतिवादी प्रतिक्षा आचार्यसँग सामाजिक सञ्जाल टिकटकमार्फत चिनजान भई फोन नम्बरसमेत आदान–प्रदान भयो। हामीबीच कुराकानी एवं भेटघाटसमेत हुन थाल्यो। त्यसपछि निज प्रतिक्षा आचार्यलाई मैले मेरो रेस्लिङ खेलका लागि इभेन्ट म्यानेजरको रूपमा नियुक्त गरी इभेन्ट चलाउँदै आइरहेकोमा निज प्रतिक्षा आचार्यसँग हिमचिम बढेपछि माया–प्रेम बस्यो। हामी एक–अर्कालाई माया गर्न थाल्यौँ। विभिन्न ठाउँमा घुमघाम गर्नुका साथै शारीरिक सम्बन्धसमेत राख्ने गरेका थियौँ।
सामाजिक सञ्जालमा भिडियोहरू पोस्ट गर्ने क्रममा निज प्रतिक्षा आचार्य र मेरो भिडियोमा ‘मेरो डाक्टर गर्लफ्रेन्ड’ भनी पोस्ट गरेपछि २०८२ सालको जेठ/आषाढतिर श्रीमती ईश्वरी भुजेलले थाहा पाई प्रहरी वृत्त बालाजुमा उजुरी गरी हामीहरू दुवै पक्ष बसी अबउप्रान्त यस्तो गल्ती नदोहोर्याउने भनी मिलापत्र गरेका थियौँ। म र प्रतिवादी प्रतिक्षा आचार्यबीच माया–प्रेम बसेकाले हामीहरू पुनः भेटघाट तथा कुराकानी गर्न थालेपछि सो कुरा श्रीमती ईश्वरी भुजेलले थाहा पाई आजभन्दा करिब दुई–अढाई महिनाअघि श्रीमती, छोरा, मेरो घरमा काम गर्ने केटी र निजहरूले एकजना अर्को मानिस मिली मलाई कोठामै कुटपिट गरेका थिए। कुटपिट गरिसकेपछि मैले जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दिएकोमा प्रहरी परिसर काठमाडौंमा हामी दुवै पक्षलाई झिकाई छलफल गरी अबउप्रान्त मैले र प्रतिक्षा आचार्यले भेटघाट नगर्ने, कुनै सम्बन्ध नराख्ने भनी कागज गरी मिलापत्र गरेका थियौँ।
साथै घरको भुईँतलाको फ्ल्याटमा म बस्ने र माथिल्लो फ्ल्याटमा निज श्रीमती ईश्वरी भुजेल र बच्चाहरू बस्ने सल्लाह भई सोहीबमोजिम बस्दै आइरहेका थियौँ तर हामीहरूबीच बोलचाल नै बन्द भएको थियो। सो समयसम्म प्रतिवादी प्रतिक्षा आचार्य र मबीच प्रेमसम्बन्ध रहेको कुरा सर्वत्र हल्लाखल्ला भइसकेपछि पनि हामी पुनः भेटघाट तथा कुराकानी गर्न थाल्यौँ। करिब १ वर्षअघि होला, म र प्रतिवादी प्रतिक्षा आचार्य घुमघाम तथा बस्न भनी जिल्ला नुवाकोटस्थित मेरो घरमा गएका थियौँ। सो समयमा मेरी आमा बिन्दा कुमारी थापा बिरामी भई काठमाडौंस्थित बहिनी रोजिना थापाको घरमा बस्नुहुन्थ्यो। घरमा बुवा जितबहादुर थापा मात्रै हुनुहुन्थ्यो। दुई दिन नुवाकोटस्थित घरमा बसिसकेपछि बुवाले गाली गरेपछि हामी फर्किएर पुनः काठमाडौं आएका थियौँ।
मैले निज प्रतिवादी प्रतिक्षा आचार्यलाई नुवाकोट घरमा लगी गएको कुरा थाहा पाएको केही दिनपछि २०८२ साल साउन महिनातिर मेरी श्रीमती ईश्वरी भुजेलले प्रहरी वृत्त बालाजुमा मेरो नाममा वैवाहिक करणी सम्बन्धी कसुर मुद्दा दिई म अनुसन्धानको क्रममा पक्राउ परी प्रस्तुत जबर्जस्ती करणी मुद्दामा सम्मानित जिल्ला अदालत काठमाडौंमा दायर भई रु. ५० हजार धरौटीमा छुटी हाल मुद्दा विचाराधीन अवस्थामा छ। निज श्रीमती ईश्वरी भुजेलले मेरो नाममा वैवाहिक करणी मुद्दा दायर गरिसकेपछि हाम्रो सम्बन्ध झन् चिसिएको थियो र मैले प्रायः घरमा नै जान छाडिदिएको थिएँ। यसरी मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेकोमा मैले निज श्रीमती ईश्वरी भुजेललाई अदालतमा बकपत्र तथा पेशीमा होस्टाइल भइदेऊ, मुद्दा मिलाऔँ, अब मिलौँ भनी पटक–पटक भन्दै आइरहेको थिएँ। निजले नमानी पुनः काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद मुद्दा दायर गरिन्। मैले बालबच्चाहरू भएका कारण सम्बन्धविच्छेद गर्न मञ्जुरी छैन भनी प्रतिउत्तर फर्काई हाल उक्त सम्बन्धविच्छेद मुद्दा समेत सम्मानित काठमाडौं जिल्ला अदालतमा विचाराधीन अवस्थामा छ।
यसरी श्रीमती ईश्वरी भुजेलले मुद्दा दिई विचाराधीन भइरहेको अवस्थामा निजले मुद्दा फिर्ता लिई मिलापत्र होस् भन्ने मेरो मनसाय भइरहेकोमा करिब १ महिनादेखि प्रतिवादी प्रतिक्षा आचार्यले पनि भेटघाट गरेकी थिइनन् तर हामीबीच फोनमा कुराकानी भइरहन्थ्यो। निज प्रतिवादी प्रतिक्षा आचार्यले पनि अब सम्बन्ध नराख्ने, भेटघाट नगर्ने जस्तो आशयले टेलिफोन गर्ने गरेकी थिइन्। यसै क्रममा मिति २०८३ साल जेठ महिनाको २२ गतेका दिन श्रीमती ईश्वरी भुजेलले सम्मानित अदालतमा दायर गरेको वैवाहिक करणी तथा सम्बन्धविच्छेद लगाउ मुद्दामा पेशी तोकिएको थियो। मुद्दा मिलापत्रका लागि भेटी कुराकानी गर्न भनी सो दिन बिहान ९:०० बजेतिर निज श्रीमती ईश्वरी भुजेल कार्यरत सैनिक ब्याण्ड गुल्म नारायणहिटीको गेटमा गएको थिएँ। गेटमा गई गेटमा रहेको ड्युटीमार्फत निज श्रीमती ईश्वरी भुजेललाई बोलाउन लगाउँदा गेटको ड्युटीमा खटिएको सिपाहीले ‘भित्रै जानुहोस्’ भनी भनेकोमा मैले गाडीमा हाल बरामद हुन आएको चक्कु बोकेकाले गाडी लिएर सैनिक गुल्मभित्र पसिनँ। टेलिफोन गरौँ भने निज श्रीमतीले टेलिफोनमा कुरा गर्न छाडेकी थिइन्। त्यसपछि म फर्किएर बबरमहलस्थित काठमाडौं जिल्ला अदालतमा गएँ।
म अदालतमा पुगी करिब १२ बजेसम्म कुरी बसेकोमा निज श्रीमती ईश्वरी भुजेल अदालतमा आइनन्। त्यसपछि मैले काठमाडौं जिल्ला बालाजुमा धनेश्वर अटोमोबाइल्स प्रा.लि. नामक रिकन्डिसन हाउस सञ्चालन गरी बस्ने प्रतिवादी साथी पुजन थापा क्षेत्रीलाई फोन गरी निजको रिकन्डिसन हाउसमा गएँ। केहीबेर गफगाफ गरी बस्यौँ। मलाई कीर्तिपुरमा खेलकुद कार्यक्रममा अतिथिका रूपमा बोलाएकाले म र प्रतिवादी साथी पुजन थापा क्षेत्री कीर्तिपुर गई कार्यक्रममा सहभागी भई बेलुकी ४ बजेतिर पुनः निजको बालाजुस्थित रिकन्डिसन हाउसमा आयौँ। मेरो चिनजानको साथी सुमन थापा पनि त्यहाँ आएका रहेछन्। निज सुमन थापाले खाजा खान जाऔँ भनी भनेपछि मेरो कार मैले चलाई, प्रतिवादी पुजन थापा क्षेत्री र सुमन थापा सवार भई मुड्खुतर्फ गई हाल मलाई नाम एकिन नभएको खाजाघरमा गई खाजा खाई पुनः प्रतिवादी पुजन थापाको रिकन्डिसन हाउसमा आई कफी खाई म जिम जान्छु भनी बेलुकी अन्दाजी ७:३० बजेतिर निस्किएको हुँ।
जिम जान्छु भनी निस्किए तापनि समय हेर्दा ढिलो भइसकेकाले जिममा के जानु भनी सिधै पैयुटारस्थित घरमा गएको थिएँ। केहीबेर घरमा बसी काम गर्ने केटीलाई ‘ईश्वरी म्याडम खै ?’ भनी सोध्दा निजले केही बोलिनन्। पछि कान्छो छोरा ईभान थापालाई केहीबेर खेलाउँछु, डुलाउँछु, लिएर आउँछु भन्दा निजले ढोका बन्द गरिदिइन्। छोरालाई भेट्न दिइनन्। निज काम गर्ने केटीसँग केहीबेर वादविवाद हुँदै गर्दा निज काम गर्ने केटी सुहाना तामाङले ‘पुनः रेप केसमा पर्लास नि’ भनी मलाई भनेपछि मलाई साह्रै रिस उठिरहेको थियो। म घरमा गएको कुरा जेठो छोरा जेनिश थापाले थाहा पाई सोही समयमा मलाई फोन गरी ‘तँ तुरुन्त घर छाड, आमाको घर हो, तँ त्यो घरमा किन आएको ?’ भनी नराम्रो बोलेपछि मलाई झन् रिस उठिरहेको थियो।
म तनावमा आई घरबाट सिधै पार्किङ गरी राखेको ठाउँबाट मेरो बी.ए.सी. ०३४४ नम्बरको किया कम्पनीको हरियो कार निकाली रिसको सुरमा ठमेलतर्फ आउँछु भनी कार चलाई आउने क्रममा पैयुटार–बस्नेतटार सडकखण्ड हुँदै आउने क्रममा पैयुटारको उकालोमा पुगेको बेलामा गाडीको स्पिड कम तथा लाइट डिम भयो। म घरमा काम गर्ने केटी र छोराले बोलेको कुराले रिसमा हुनुका साथै अदालतमा पेशीको दिनमा श्रीमती ईश्वरी भुजेल नआएकाले तनावमा गाडी चलाइरहेको थिएँ। विपरीत दिशाबाट मेरी श्रीमती ईश्वरी भुजेल स्कुटर चलाई आउँदै गरेकी रहिछन्। निज श्रीमती ईश्वरी भुजेल ड्युटी सकेर घर आउन लागेको कुरा थाहा पाएँ। निजले मैले चलाएको कार देखी हाल मलाई नामथर थाहा हुन आएको राजु भट्टराई भन्ने मानिसको घरतर्फ अर्थात् घटनास्थलतिर जाने बाटोतर्फ स्कुटर मोडिन्। मैले पनि निज श्रीमतीले चलाएको स्कुटरमार्फत निजलाई चिनीहालेँ।
म गाडीबाट झरी मैले सधैँ गाडीमा बोक्ने बटनवाला धारिलो चक्कु निकाली गोजीमा राखी निज श्रीमती ईश्वरी भुजेललाई पछ्याउँदै गएँ। सो बाटोको अन्तिमतिर घर भएकाले बाटो त्यहाँसम्म मात्रै रहेछ। निज श्रीमती ईश्वरी भुजेलले स्कुटर रोकी घरको वालतर्फ गएकोमा मैले पछाडिबाट गोजीको चक्कु निकाली हातमा समाई निजलाई समात्न खोज्दा निज श्रीमती ईश्वरी भुजेलले प्रतिकार गर्न खोजिन्। त्यसपछि मैले निजलाई पछाडिबाट समाती हातले अँगालो मारेजस्तो गरी नियन्त्रणमा लिई मैले साथमा बोकेको धारिलो चक्कुले निज श्रीमती ईश्वरी भुजेलको घाँटी रेटी सोही स्थानमा मरिन् भनी छाडी त्यहाँबाट हिँड्दै गाडी भएको ठाउँतर्फ आई वारदातमा प्रयोग गरेको चक्कु गाडी रोकेको ठाउँ नजिकै बाटोछेउमा फाली आफ्नो कार चलाई बालाजुतर्फ आएको हुँ। गाडीलाई बालाजु चमातीस्थित सडकछेउमा छाडी प्रहरी कार्यालयतर्फ आउने क्रममा पक्राउ परेको हुँ।
अनुसन्धानको क्रममा मैले वारदातमा प्रयोग गरेको चक्कु मेरो रोहवरमा बरामद भएको हो। श्रीमती ईश्वरी भुजेलको चक्कुले घाँटी रेटी कर्तव्य गरी मारेकोमा कानुनबमोजिम सहन–भोग्न मञ्जुर छु। प्रस्तुत वारदातमा अन्य प्रतिवादीहरू कोही कसैको संलग्नता छैन।
प्रतिवादी पुजन थापा क्षेत्रीको बालाजुस्थित रिकन्डिसन हाउसमा म र प्रतिवादी प्रतिक्षा आचार्य गइरहने र मैले निजको रिकन्डिसनमा रहेका गाडीहरूको भिडियो बनाई टिकटकमा हाल्ने गरेको थिएँ। प्रतिवादी पुजन थापा क्षेत्री, विक्रम थापामगर मेरो र प्रतिक्षा आचार्यको सम्बन्धबारे थाहा–जानकारी भएका मानिस हुन्। प्रतिवादी विक्रम थापामगर मेरो सहोदर भाइ हुन्। निज प्रतिवादीहरूको प्रस्तुत वारदातमा संलग्नता छैन।
मिसिल संलग्न सिसिटिभी फुटेजमा देखिएको कारबाट झरी पैदल हिँडी स्कुटरमा सवार महिलाको पछि–पछि जाने र फर्की आई गाडी चढी गोजीबाट केही चिज निकाली फालेजस्तो देखिने मानिस म हुँ। स्कुटरमा सवार महिला मेरी श्रीमती ईश्वरी भुजेल हुन्। सो फुटेज वारदात समयको फुटेज हो। मैले श्रीमती ईश्वरी भुजेललाई चक्कु प्रहार गर्ने बेलाको र चक्कु प्रहार गरिसकेपछि चक्कु फाली आफ्नो कारमा चढी आउने बेलाको सिसिटिभी फुटेजहरू हुन्। हेरी, चिनी, सनाखत गरी दिएँ भन्ने समेत व्यहोराको प्रतिवादी ‘नेपाली ब्रो’ भन्ने कुमार थापामगरले गरेको बयान।
