के केप भर्डेले अर्जेन्टिनालाई हराउला ?
एजेन्सी। फिफा विश्वकपमा पहिलोपटक सहभागी भएको काबो भेर्डेले आफ्नो ऐतिहासिक यात्रालाई थप स्मरणीय बनाउने अवसर पाएको छ। समूह चरणमा प्रभावशाली प्रदर्शन गर्दै नकआउट चरणमा पुगेको काबो भेर्डेले शुक्रबार मियामीमा हुने ‘राउन्ड अफ ३२’ मा वर्तमान विश्व च्याम्पियन अर्जेन्टिनाको सामना गर्दैछ।
काबो भेर्डेका मुख्य प्रशिक्षक बुबिस्टाले अर्जेन्टिनासँगको खेल आफ्नो टोली र देशका लागि ठूलो सम्मान भएको बताएका छन्। उनले अर्जेन्टिनासँग आफ्नो देशको सांस्कृतिक र फुटबल सम्बन्ध पुरानो रहेको उल्लेख गर्दै यो खेललाई ‘पुरस्कार’का रूपमा व्याख्या गरे।
‘अर्जेन्टिनासँग हाम्रो गहिरो सम्बन्ध छ। उनीहरूविरुद्ध खेल्ने अवसर यी खेलाडी, यो टोली र सम्पूर्ण देशका लागि एउटा पुरस्कार हो। नकआउट चरणमा पुग्नु नै फेरि एकपटक इतिहास रच्नु हो,’ बुबिस्टाले भने।
ब्राजिलबाट सुरु भएको फुटबल मोह, अब अर्जेन्टिनासम्म
काबो भेर्डेमा विश्वकपको समय परिवारहरू टेलिभिजनअघि भेला भएर खेल हेर्ने परम्परा पुरानै हो। लामो समयसम्म ब्राजिलका खेलाडीहरू त्यहाँका समर्थकका मुख्य आकर्षण थिए। तर पछिल्ला वर्षहरूमा अर्जेन्टिना र विशेषगरी लियोनेल मेस्सीले पनि काबो भेर्डेका फुटबल समर्थकमाझ विशेष स्थान बनाएका छन्।
त्यसको उदाहरण गोलरक्षक भोजिन्हाको परिवार पनि हो। उनका बुबाले सन् १९८६ को विश्वकप विजेता अर्जेन्टिनाका स्ट्राइकर जोर्ज भाल्डानोको सम्मानमा छोराको नाम ‘भाल्डानो’ राख्न चाहेका थिए। तर त्यतिबेला विदेशी नाम राख्न नपाइने नियमका कारण त्यो सम्भव हुन सकेन।
मेस्सीविरुद्ध खेल्नु बाल्यकालको सपना
विश्व च्याम्पियन अर्जेन्टिनासँगको खेललाई काबो भेर्डेका खेलाडीहरूले जीवनकै विशेष अवसरका रूपमा लिएका छन्।
सेन्टर–ब्याक डिने बोर्जेसले मेस्सीविरुद्ध खेल्नु आफ्नो बाल्यकालको सपना भएको बताए।
‘मेस्सीसँग खेल्न पाउनु हरेक दिन हुने कुरा होइन। हामी सबै उहाँको खेल हेर्दै हुर्किएका हौं। उहाँविरुद्ध मैदान उत्रिनु आफैंमा विशेष अनुभव हो,’ उनले भने।
यद्यपि उनले काबो भेर्डे केवल मेस्सी हेर्न नभई प्रतिस्पर्धा गर्न मैदानमा उत्रिने स्पष्ट पारे।
अर्जेन्टिना उपाधिको दाबेदार
प्रशिक्षक लियोनेल स्कालोनीको नेतृत्वमा रहेको अर्जेन्टिनाले समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै नकआउट चरणमा स्थान बनाएको छ। कप्तान लियोनेल मेस्सी उत्कृष्ट लयमा छन् भने जुलियन अल्भारेज, एलेक्सिस म्याक एलिस्टर र रोड्रिगो डे पलजस्ता खेलाडीले टोलीलाई थप बलियो बनाएका छन्।
बल नियन्त्रण, तीव्र आक्रमण र खेलको गति नियन्त्रणमा अर्जेन्टिना विश्वकै उत्कृष्ट टोलीमध्ये एक मानिन्छ। त्यसैले काबो भेर्डेका लागि यो प्रतियोगिताको सबैभन्दा कठिन परीक्षा हुनेछ।
‘फुटबलमा जे पनि हुन सक्छ’
बुबिस्टाले अर्जेन्टिनालाई सम्मान गरे पनि आफ्नो टोली कुनै डर बिना मैदान उत्रिने बताए।
‘फुटबलमा जे पनि हुन सक्छ। हामी अर्जेन्टिनालाई सम्मान गर्छौं, तर हामी कडा प्रतिस्पर्धा गर्नेछौं। हामी सपना बाँचिरहेका छौं, तर मैदानमा उत्रिएपछि कसैको नाम वा अनुहार हेरेर डराउने छैनौं। स्पेनविरुद्ध खेलेजस्तै आत्मविश्वासका साथ खेल्नेछौं,’ उनले भने।
समूह चरणमा स्पेनसँग बराबरी खेलेर र उरुग्वेलाई प्रतियोगिताबाट बाहिर पठाएको काबो भेर्डे अहिले अर्को ठूलो उलटफेरको खोजीमा छ। विश्व च्याम्पियन अर्जेन्टिनालाई चुनौती दिन सफल भए यो सानो अफ्रिकी राष्ट्रका लागि विश्वकप इतिहासकै सबैभन्दा ठूलो उपलब्धि हुनेछ।
