विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ
काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत हुने त्रिकोणात्मक एकदिवसीय शृङ्खलाका लागि नेदरल्यान्ड्स जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले औपचारिक रूपमा बिदाइ गरेको छ।
नेपाल, नामिबिया र घरेलु टोली नेदरल्यान्ड्स सहभागी रहने उक्त शृङ्खला जुलाई २१ देखि सुरु हुने छ। प्रतियोगिताअघि नेपाली टोलीले जर्सीमा अभ्यास खेल तथा प्रशिक्षणमार्फत आफ्नो तयारीलाई अन्तिम चरणमा पुर्याउनेछ।
बिदाइ कार्यक्रममा क्यानका सचिव पारस खड्काले नेपाली टोलीले अघिल्लो युरोप भ्रमणमा जस्तै उत्कृष्ट प्रदर्शन दोहोर्याउने विश्वास व्यक्त गरे। उनले हालका खेलमा देखिएको आत्मविश्वास र प्रदर्शनलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
उनले आगामी महिनाहरू नेपाली क्रिकेटका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै विश्वकप लिग–२ का खेलसँगै नेपाल प्रिमियर लिग (एनपीएल) को तयारी पनि सँगसँगै अघि बढ्ने बताए।
टोलीका कप्तान रोहित पौडेलले अभ्यास सन्तोषजनक रहेको र खेलाडीहरू शारीरिक तथा मानसिक रूपमा प्रतियोगिताका लागि तयार रहेको जानकारी दिए। उनले पछिल्ला सातादेखि फिटनेस र खेल रणनीतिमा विशेष ध्यान दिइएको बताए।
रोहितका अनुसार विश्वकप छनोटको लक्ष्यका लागि लिग–२ का बाँकी खेलहरू निर्णायक हुने भएकाले प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित टोली मैदान उत्रिनेछ।
