ओलीको प्रश्न – ‘राष्ट्रिय स्वाभिमानको विषय आउँदा तपाईँहरूको आवाज किन आउँदैन?’
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले राष्ट्रिय स्वाभिमान, सीमा र सार्वभौमिकतासँग सम्बन्धित विषयमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू मौन बसेको आरोप लगाएकी छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले राष्ट्रहितका सवालमा सत्ता पक्षले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताइन्।
अघिल्लो दिन रास्वपा सांसद टीका संग्रौलाले प्रतिपक्षलाई लक्षित गर्दै दिएको अभिव्यक्तिको जवाफ दिँदै ओलीले इतिहासले प्रतिपक्षको मात्र होइन, सत्ता पक्षको भूमिकाको पनि मूल्याङ्कन गर्ने बताइन्।
प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिप्रति संकेत गर्दै उनले भनिन्, ‘प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको सीमा, राष्ट्रिय स्वाभिमान र सार्वभौमिकतामाथि प्रश्न उठ्यो। त्यो विषयमा तपाईँहरू किन मौन बसिरहनुभएको छ? राष्ट्रको विषय आउँदा तपाईँहरूको आवाज किन आउँदैन? केही दल वा केही नेताप्रतिको निष्ठा राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हितभन्दा माथि कसरी पुग्न सक्छ?’
उनले सत्ता पक्षको मौनतालाई इतिहासले पनि मूल्याङ्कन गर्ने उल्लेख गर्दै भनिन्, ‘इतिहासले प्रतिपक्षले के बोल्यो भन्ने मात्र लेख्दैन। सत्तापक्षले कहिले बोल्यो, कहिले मौन रह्यो र कसको पक्षमा उभियो भन्ने कुरा पनि लेखिन्छ। त्यसैले सम्झनुहोस्, आजको तपाईँहरूको मौनता पनि इतिहासको अभिलेखमा दर्ता हुँदैछ। भोलि इतिहासले हामीलाई मात्र होइन, राष्ट्रको प्रश्नमा मौन बसेका तपाईँहरूलाई पनि कठघरामा उभ्याउनेछ।’
प्रधानमन्त्रीले संसद्मै आएर जवाफ दिनुपर्ने माग दोहोर्याउँदै ओलीले भनिन्, ‘दुर्भाग्यवश, प्रधानमन्त्रीज्यूले संसद्लाई होइन, आफ्नै दलको चितवन महाधिवेशनलाई रोज्नुभयो। के अब सरकारको आधिकारिक जवाफ पार्टीको महाधिवेशनबाट आउने हो? के सार्वभौम संसद् पार्टीको मञ्चभन्दा सानो संस्था भएको हो?’
उनले राष्ट्रिय महत्वका विषयमा सरकार संसद्प्रति जवाफदेही हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले प्रतिनिधिसभामा उपस्थित भएर उठेका प्रश्नको स्पष्ट जवाफ दिनुपर्ने बताइन्।
