‘हामी बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिम्मेवारीबाट हटाइए
काठमाडौं । सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख डीएसपी प्रसन्नराज चौधरीलाई जिम्मेवारीबाट हटाइएको छ।
उनको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिन थालेपछि उनलाई स्पष्टीकरणका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा तानिएको प्रहरीले जनाएको हो।
सार्वजनिक कार्यक्रममा बोल्ने क्रममा डीएसपी चौधरीले, ‘हामी बालेनको पुलिस होइनौँ, केपी ओलीलाई थुन्ने यही नेपाल प्रहरी हो,’ भन्ने अभिव्यक्ति दिएका थिए। उक्त भिडियो सार्वजनिक भएपछि त्यसबारे विभिन्न प्रतिक्रिया आएका थिए।
प्रहरी स्रोतका अनुसार भिडियो भाइरल भएसँगै उनको अभिव्यक्तिबारे आन्तरिक रूपमा छानबिन सुरु गरिएको छ। त्यसैको क्रममा उनलाई इलाका प्रहरी कार्यालय सुख्खडको नेतृत्वबाट हटाएर जिल्ला प्रहरी कार्यालय कैलालीमा तानिएको हो। उनीसँग सो अभिव्यक्तिबारे स्पष्टीकरण पनि मागिएको जनाइएको छ।
उक्त कार्यक्रममा डीएसपी चौधरीले आफू लोकसेवा आयोगको प्रतिस्पर्धाबाट प्रहरी सेवामा आएको उल्लेख गर्दै नेपाल प्रहरी कुनै व्यक्ति वा दलको नभई संविधान र कानुनअनुसार सञ्चालन हुने संस्था भएको धारणा राखेका थिए। यद्यपि, उनले प्रयोग गरेको अभिव्यक्तिलाई लिएर विवाद उत्पन्न भएपछि प्रहरी प्रधान कार्यालयले आवश्यक प्रशासनिक प्रक्रिया अघि बढाएको छ।
यस विषयमा प्रहरीको औपचारिक विस्तृत प्रतिक्रिया आउन बाँकी छ भने घटनाबारे थप अनुसन्धान तथा छानबिन जारी रहेको बताइएको छ।
