`

बालेनसरकार पश्चात् नि थामिएन नेप्सेको पहिरो

Nepal One HD २८ असार २०८३ १२:३६
अर्थ समाचार

काठमाडौं । नेपालको शेयर बजारमा पछिल्ला केही महिनादेखि निरन्तर दबाब देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घट्दै २६०० अंकको आसपास पुगेपछि बजार करिब ६ महिनायताकै न्यून स्तरमा झरेको छ।

सरकार परिवर्तनसँगै आर्थिक नीति र लगानीमैत्री वातावरण बन्ने अपेक्षा गरिए पनि त्यसको प्रभाव शेयर बजारमा देखिन सकेको छैन। बरु पछिल्ला महिनामा अधिकांश कारोबार दिनमा बजार घट्दो क्रममा देखिएको छ, जसले लगानीकर्ताको मनोबल कमजोर बनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बालेन्द्र साह नेतृत्वको सरकार गठनअघि बजारमा सकारात्मक अपेक्षा थियो। निर्वाचनअघि सार्वजनिक गरिएको घोषणापत्रमा पूँजीबजार सुधार, लगानीकर्ता संरक्षण र बजारमैत्री नीति अवलम्बन गर्ने प्रतिबद्धता जनाइएकाले धेरै लगानीकर्ताले बजारमा नयाँ ऊर्जा आउने अनुमान गरेका थिए।

तर सरकार गठनपछि भने बजारले ठीक विपरीत दिशा समात्यो। चैत १२ गते सरकार गठन हुनुअघि नेप्से परिसूचक करिब २९५० अंकको उचाइमा पुगेको थियो। त्यसपछि भने बजार लगातार ओरालो लाग्दै हाल २६०० अंकको आसपासमा सीमित भएको छ।

यस अवधिमा मात्रै नेप्से करिब ३५० अंकले घटेको देखिन्छ। विश्लेषकहरूका अनुसार यति छोटो अवधिमा भएको यस्तो गिरावटले लगानीकर्ताको सम्पत्ति मूल्यमा ठूलो असर पारेको छ।

पछिल्लो गिरावटसँगै नेप्से करिब ६ महिनायताकै न्यून विन्दुमा पुगेको हो। यसअघि गत पुस महिनामा बजार करिब २५९७ अंकसम्म झरेको थियो। त्यसपछि केही समय सुधार देखिए पनि चैत महिनामा उच्च विन्दु छोएको बजार फेरि निरन्तर दबाबमा परेको छ।

यो अवधिमा नेप्सेले करिब २९७० अंकसम्मको उच्च स्तर छोएको थियो। त्यसपछि भने बजारमा स्थायी सुधार आउन नसक्दा अधिकांश क्षेत्रका सूचकहरू पनि कमजोर बनेका छन्।

बजार जानकारहरूका अनुसार लगानीकर्तामा नीतिगत अन्योल, आर्थिक गतिविधिमा अपेक्षित सुधार नआउनु, बैंकिङ प्रणालीमा देखिएको लगानी प्रवाहको सुस्तता तथा सरकारबाट पूँजीबजारका लागि ठोस सुधारका कार्यक्रम सार्वजनिक हुन नसक्नुजस्ता कारणले बजारमा विश्वास कमजोर बनेको छ।

यद्यपि केही विश्लेषकहरूले अहिलेको गिरावटलाई दीर्घकालीन लगानीकर्ताका लागि अवसरका रूपमा पनि हेरिरहेका छन्। उनीहरूका अनुसार अर्थतन्त्रमा सुधारका संकेत देखिए, सरकारी नीतिले लगानीकर्ताको विश्वास पुनः स्थापित गर्न सके र सूचीकृत कम्पनीहरूको वित्तीय अवस्था सन्तोषजनक रहे आगामी महिनामा बजारले पुनः गति लिन सक्ने सम्भावना रहन्छ।

अहिलेलाई भने शेयर बजारमा बिक्री दबाब कायमै रहेको छ। सरकार परिवर्तनसँगै देखिएको प्रारम्भिक आशा बजारको तथ्याङ्कमा रूपान्तरण हुन नसक्दा लगानीकर्ताहरू अझै पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *