नयाँ राष्ट्रवादी पार्टी बनाउने गृहकार्यमा धवलशम्सेर र दुर्गा
काठमाडौं। डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा बन्न लागेको प्रस्तावित नयाँ राजनीतिक दलको गठन प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
राष्ट्रप्रेमी र देशभक्तको छवी बनाएका नेता, राजनीतिक दल र अभियन्ताहरु नयाँ बन्ने राष्ट्रवादी पार्टीमा जोडिने क्रम बढ्दो छ ।
‘नयाँ पार्टी गठन गर्नका लागि आवश्यक सबै तयारीहरु अन्तिम चरणमा पुगेको छ, दल दर्ताका लागि अब हामी चाँडै निर्वाचन आयोग जानेछौं,’ प्रस्तावित दलका नेता डा. धवलशम्सेर राणाले संचारकर्मीहरुसँग कुरा गर्दै भने ।
राणाका अनुसार, दल दर्ताका लागि आवश्यक विधान, हस्ताक्षर संकलन लगायत सबै कुरा टुंगिन लागेको छ ।
‘देशभरीबाट र प्रवास रहेका नेपालीहरुबाट पनि हामीलाई सुभेच्छा प्राप्त भएको छ । देशलाई माया गर्ने तमाम राजनीतिक दल, अभियानहरु सम्पर्कमा आउनु भएको छ । राष्ट्रवादी प्रजातान्त्रिक दल गठन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ, अत्यन्तै उत्साहजनक माहोल छ,’ प्रस्तावित नयाँ दलका सचिवालय प्रमुख सगुन सन्दर लावतीले भने ।
यस अघि राष्ट्रवादी धारको प्रतिनिधित्व गर्ने दल र नेताहरुबाट मतदातालाई झुक्याउने काम भएको जनगुनासो छ । भनाइ र गराइ बीच अन्तर गर्ने, राजाको नाम भजाएर मन्त्री खाने, पैसा कमाउने र गणतन्त्रवादीहरुको पछि लागेर राजसंस्थावादी आन्दोलन तुहाउने काम गरेको भन्दै ठूलो आलोचना भएको छ ।
यसैबीच अब बन्ने नयाँ राष्ट्रवादी दलले यो अभाव मेट्दै जनताको विश्वास जित्ने राजनीतिक वृत्तमा चर्चा छ ।
