सिंहदरबारमा धर्ना बसेका निहारिका सिंह राजपूत र बिनु कठायत प्रहरी नियन्त्रणमा
काठमाडौं । सिंहदरबारको दक्षिण गेटमा धर्ना दिएका निहारिका सिंह राजपूत र बिनु कठायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गृह मन्त्रालयमा पुगेर आफ्ना समस्या प्रत्यक्ष रूपमा राख्न पाउनुपर्ने माग गर्दै उनीहरू सोमबार सिंहदरबार पुगेका थिए।
वर्षाको बीचमा सिंहदरबार प्रवेश गर्न खोजेका उनीहरूलाई प्रहरीले आवश्यक मापदण्डअनुसारको प्रवेश पास नभएको भन्दै गेटमै रोकेको थियो। त्यसपछि दुवै जना दक्षिण गेटमै धर्नामा बसेका थिए।
निहारिकाले आफूहरू आवश्यक प्रक्रिया पूरा गरेर सिंहदरबार प्रवेश गर्न खोज्दा पनि ‘माथिको आदेश’ भन्दै रोकिएको आरोप लगाइन्। उनले भनिन्, ‘हाम्रो लागि यो सरकार होइन ? कोही पीडितलाई गृहमन्त्रीले आफैँ खोजी–खोजी भेट्ने, हामीलाई चाहिँ सिंहदरबारभित्र छिर्न पनि नदिने ? हामी यहीँ धर्ना बस्दै छौँ।’
प्रहरीले भित्र प्रवेश गर्न नदिएपछि बिनु कठायत विरोधस्वरूप सडकमै सुतेकी थिइन्। केहीबेरपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतका अनुसार आवश्यक समन्वय र कानुनी प्रक्रिया पूरा गर्न निहारिका र बिनुलाई प्रहरी वृत्त सिंहदरबार लगिएको छ।
निहारिका सिंह राजपूत विगतदेखि आफ्ना व्यक्तिगत तथा कानुनी मागहरू उठाउँदै विभिन्न सार्वजनिक आन्दोलन गर्दै आएकी छन्। यसपटक पनि गृह मन्त्रालयसमक्ष आफ्ना माग प्रत्यक्ष रूपमा राख्न पाउनुपर्ने अडानसहित उनी सिंहदरबार पुगेकी थिइन्।
