गृहको ‘फोन’पछि सञ्चारगृहकाे गेट छेक्ने गाडीधनीलाई फिर्ता
काठमाडौं । प्रमुख सञ्चारगृहका मूलगेट छेक्ने गरी शंकास्पद रूपमा गाडी पार्किङ गर्ने व्यक्तिमाथि अनुसन्धान नै नगरी सामान्य ट्राफिक जरिवानामै छाडिएको भन्दै सरकार र प्रहरीको भूमिकामाथि प्रश्न उठेको छ।
घटनालाई ट्राफिक नियम उल्लंघनका रूपमा सीमित गर्दै संलग्नलाई उन्मुक्ति दिन खोजिएको आरोपसमेत लागेको छ।
सोमबार बिहान कान्तिपुर, हिमालय टेलिभिजन र अनलाइनखबरका मूलगेट अगाडि शंकास्पद रूपमा पार्क गरिएका गाडी प्रहरीले दिनभर हटाएको थिएन।
अन्ततः सञ्चारगृहहरूले आफैं क्रेन भाडामा ल्याएर गाडी हटाएपछि मात्र ट्राफिक प्रहरीले गाडीधनीलाई ५०० रुपैयाँ जरिवाना गरेर गाडी जिम्मा लगाएको थियो।
तर, यस्तो गतिविधिको उद्देश्य के थियो भन्नेबारे मंगलबारसम्म पनि कुनै अनुसन्धान अघि बढाइएको छैन।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले अनुसन्धानका लागि आफ्नो कार्यालयमा कुनै फाइल नआएको बताए।
‘हामीले नियन्त्रणमा लिएका सबै गाडी सुरक्षितसाथ ट्राफिक प्रहरी कार्यालय पठाएका हौँ। कारबाही गर्ने काम उहाँहरूले नै गर्नुभएको होला। थप अनुसन्धान गर्न भन्दै हामीकहाँ कसैले फाइल पठाएजस्तो लाग्दैन,’ उनले भने ।
प्रहरी स्रोतका अनुसार ट्राफिक प्रहरी कार्यालयमा गाडी पुगेलगत्तै गृह मन्त्रालयबाट गाडीधनीलाई जिम्मा लगाउन निर्देशन आएको थियो।
एक प्रहरी अधिकारीका अनुसार, ‘कार्यालय परिसरमा गाडी आइपुगेलगत्तै गृहको फोन आयो। गाडी लिन मेरो मान्छे आउँछ, जिम्मा लगाएर पठाउनू भनियो। त्यसपछि न्यूनतम कारबाहीस्वरूप चिट काटेर गाडी जिम्मा लगाइयो।’
यस घटनामा संलग्न गाडीमध्ये केही सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीसँग आबद्ध वा सत्ता निकटका व्यक्तिहरूले प्रयोग गर्दै आएको विवरण सार्वजनिक भइसकेको छ।
सोमबार बिहान कान्तिपुर मिडिया हाउसको गेटअगाडि बा.प्र.०१-०३४ च ८४८० नम्बरको गाडी रोकिएको थियो।
सुरक्षाकर्मीले रोक्न आग्रह गर्दा पनि चालकले गाडी गेटमै छाडेर हिँडेका थिए। प्रहरी घटनास्थल पुगे पनि गाडी हटाउन कुनै पहल नगरेपछि अन्ततः सञ्चारगृहले आफैं क्रेन बोलाएर हटाउनुपरेको थियो।
उक्त गाडी रवि जैसवालले प्रयोग गर्दै आएको खुलेको छ। उनलाई रास्वपाका तत्कालीन महामन्त्री भूपदेव शाहले केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागमा सदस्य मनोनयन गरेका थिए।
यस्तै, अनलाइनखबरको गेटअगाडि बा.१२ च ८५४५ नम्बरको गाडी राखिएको थियो। प्रहरीलाई जानकारी गराउँदा पनि चार घण्टासम्म नहटाइएपछि क्रेनमार्फत हटाइएको थियो।
उक्त गाडी डा. सुनील पौडेलको नाममा भए पनि पछिल्ला दिन सुजन पौडेलले प्रयोग गर्दै आएको र उनी रास्वपामा सक्रिय रहेको स्थानीयहरूको भनाइ छ।
हिमालय टेलिभिजनको गेटमा पार्क गरिएको बा.१० च १२५५ नम्बरको गाडी पनि क्रेनबाट हटाउनुपरेको थियो। उक्त गाडी राजीवकाजी श्रेष्ठको नाममा दर्ता रहेको खुलेको छ।
पछिल्ला दिन सरकारको आलोचनात्मक समाचार प्रकाशित गरेका सञ्चारमाध्यमका कार्यालयमै लक्षित रूपमा गाडी राखिएको घटनालाई पत्रकार महासंघले प्रेस स्वतन्त्रतामाथिको मनोवैज्ञानिक दबाबको प्रयासका रूपमा व्याख्या गरेको छ।
अनुसन्धानभन्दा जरिवानामै घटना टुंग्याउने प्रयासले प्रहरीको निष्पक्षता र सरकारको भूमिकामाथि थप प्रश्न उठाएको छ।
