‘भारतले मिचेको भूमि फिर्ता माग्यो भने के दिनुहुन्छ ?’
काठमाडौं। नेकपा (एमाले)की सांसद गङ्गा श्रेष्ठले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको जेठ १७ गतेको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा आपत्ति जनाउँदै भारतले नेपालले मिचेको भूमि फिर्ता मागे सरकारले कुन भूभाग फिर्ता दिने हो भनेर प्रश्न गरेकी छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको राष्ट्रिय अडानमाथि नै प्रश्न उठाएको टिप्पणी गरिन्। उनले सरकारसँग कालापानी, लिपुलेक र लिम्पियाधुरामाथिको नेपालको दाबीबाट पछि हट्न खोजिएको हो कि भन्ने आशंका पनि व्यक्त गरिन्।
सांसद श्रेष्ठले सीमावर्ती क्षेत्रमा जङ्गे पिलर क्रमशः खिइँदै र सर्दै जाँदा त्यहाँका नागरिकले विभिन्न समस्या भोगिरहेको उल्लेख गर्दै सीमा संरक्षणमा सरकार गम्भीर हुनुपर्ने बताइन्। उनले सीमावर्ती बासिन्दाको अवस्था उल्लेख गर्दै राष्ट्रिय सीमाको रक्षा राज्यको पहिलो दायित्व भएको धारणा राखिन्।
उनले नेपाली भूमि र राष्ट्रियता कुनै पनि अवस्थामा गुम्न नदिने प्रतिबद्धता व्यक्त गर्दै सीमा सुरक्षामा सरकार र सुरक्षा निकाय थप जिम्मेवार बन्नुपर्ने माग गरिन्।
सांसद श्रेष्ठले पछिल्लो समय विभिन्न राजनीतिक घटनाक्रमलाई जोड्दै सरकारले जनसरोकारका विषयभन्दा अन्य गतिविधिलाई प्राथमिकता दिएको आरोप पनि लगाइन्।
साथै, राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनअघि गरेका प्रतिबद्धता सरकारमा पुगेपछि कार्यान्वयन गर्न नसकेको टिप्पणीसमेत गरिन्।
