`

भारत-नेपाल ऊर्जा सहकार्य थप सुदृढ, जलविद्युत् र प्रसारण पूर्वाधारमा जोड

Nepal One HD ३२ असार २०८३ ९:१९
अर्थ समाचार

काठमाडौं । भारत र नेपालबीच ऊर्जा क्षेत्रको सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त कार्यदल (जेडब्ल्युजी) को १३औँ बैठक पोखरामा सम्पन्न भएको छ।

भारत सरकारको विद्युत मन्त्रालयका सचिव पंकज अग्रवाल र नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडीको सह-अध्यक्षतामा असार ३१ गते संयुक्त निर्देशक समिति (जेएससी) को बैठक बसेको हो।

त्यसअघि असार ३० गते भारत सरकारको विद्युत मन्त्रालयका सहसचिव (प्रसारण) पंकजकुमार र नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीप कुमार देवको सह-अध्यक्षतामा संयुक्त कार्यदल (जेडब्ल्युजी) को १३औँ बैठक सम्पन्न भएको थियो।

बैठकमा जलविद्युत् आयोजना विकास, सीमापार विद्युत व्यापार तथा प्रसारण पूर्वाधार विस्तारलगायत भारत-नेपाल ऊर्जा सहकार्यका विविध पक्षको विस्तृत समीक्षा गरिएको छ।

दुवै पक्षले ४०० केभी गोरखपुर-न्यू बुटवल अन्तरदेशीय प्रसारण लाइनसहित नयाँ प्रसारण संरचना निर्माणमा भएको प्रगतिप्रति सन्तुष्टि व्यक्त गर्दै निर्माणाधीन तथा प्रस्तावित विद्युत उत्पादन र प्रसारण आयोजनाको कार्यान्वयनलाई तीव्र बनाउने विषयमा छलफल गरेका छन्।

त्यसैगरी, भारतीय र नेपाली विद्युत ग्रिडको समन्वयात्मक सञ्चालन, सौर्य ऊर्जा परियोजनाको विकास, हरित हाइड्रोजन (ग्रीन हाइड्रोजन) मा सहकार्य विस्तार तथा नेपाली प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धिसम्बन्धी विषयमा पनि सहमति भएको छ।

जेएससी बैठकअघि भारतका विद्युत सचिव पंकज अग्रवालले असार ३० गते नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठसँग भेटवार्ता गरेका थिए।

बैठकका निष्कर्षले नेपाल र भारतबीच ऊर्जा क्षेत्रमा विकसित हुँदै गएको रणनीतिक साझेदारीलाई थप मजबुत बनाउने तथा जलविद्युत् विकास, विद्युत व्यापार र ऊर्जा सुरक्षामा द्विपक्षीय सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *