पत्नीले गरिन् चक्कु प्रहार गरी पतिको हत्या , आठ वर्षीय छोरा रगताम्मे भेटिए
एजेन्सी। भारतको कर्नाटक राज्यस्थित धारवाडमा एक चिकित्सक आफ्नै फ्ल्याटमा चक्कु प्रहार गरी हत्या गरिएको अवस्थामा फेला परेका छन्। घटनास्थलमै उनका आठ वर्षीय छोरा गम्भीर घाइते अवस्थामा भेटिएपछि प्रहरीले मृतककी पत्नीलाई मुख्य शंकास्पदका रूपमा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार मृतक ४५ वर्षीय डा. किरण होन्नानवर हुन्। उनी निजी अस्पतालमा एनेस्थेसियोलोजिस्ट (बेहोस बनाउने विशेषज्ञ) का रूपमा कार्यरत थिए। घटना धारवाडको पवन हाई स्कुल नजिक रहेको रंका अपार्टमेन्टको छैटौँ तलास्थित फ्ल्याटमा भएको हो।
बुधबार प्रहरी घटनास्थलमा पुग्दा डा. किरणको शव रगतले लतपतिएको अवस्थामा फेला परेको थियो। उनको शरीरमा धारिलो हतियारबाट गरिएका धेरै गहिरा चोट देखिएको प्रहरीले जनाएको छ।
अर्को कोठामा उनका आठ वर्षीय अटिजम भएका छोरा गम्भीर घाइते अवस्थामा भेटिएका थिए। बालकको शरीरमा पनि चक्कुका चोट रहेको र तत्काल उपचारका लागि अस्पताल लगिएको जनाइएको छ। चिकित्सकहरूका अनुसार उनको अवस्था गम्भीर छ।
अनुसन्धानका क्रममा सबैभन्दा बढी ध्यानाकर्षण गराएको पक्ष मृतककी पत्नी डा. प्रियंका कटनाहल्लीको व्यवहार बनेको छ। उनी पनि पेशाले नेत्र रोग विशेषज्ञ हुन्।
प्रहरीका अनुसार घटनास्थलमा पुग्दा श्रीमानको शव रगताम्मे अवस्थामा थियो भने छोरा जीवन र मृत्युको संघर्ष गरिरहेका थिए। तर डा. प्रियंका भने अर्को कोठामा बसेर मोबाइल चलाइरहेकी थिइन्। साथै, फ्ल्याटमा बाहिरबाट जबरजस्ती प्रवेश गरिएको कुनै संकेत पनि फेला नपरेको प्रहरीले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार हत्या मंगलबार साँझ नै भएको हुन सक्ने अनुमान गरिएको छ।
अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार मंगलबार साँझदेखि डा. प्रियंकाले मृतकको मोबाइल फोन आफैं उठाउँदै आएकी थिइन्। विभिन्न व्यक्तिले फोन गर्दा उनले हरेक पटक फरक–फरक र असंगत जानकारी दिएको पाइएपछि हत्या अघिल्लो दिन नै भएको हुन सक्ने आशंका बलियो बनेको छ।
हुबली-धारवाडका प्रहरी आयुक्त एन. शशिकुमारका अनुसार डा. प्रियंकाले प्रारम्भिक सोधपुछका क्रममा स्पष्ट जवाफ दिन सकेकी छैनन्। उनले पटक–पटक बयान परिवर्तन गरेकी र मानसिक रूपमा असामान्य अवस्थामा देखिएको प्रहरीको भनाइ छ।
मृतकका परिवारले दिएको उजुरीका आधारमा घटनापछि कुनै गम्भीर पारिवारिक वा घरेलु विवाद रहेको हुन सक्ने कोणबाट पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले डा. प्रियंकाविरुद्ध हत्या मुद्दा दर्ता गरी नियन्त्रणमा राखेको छ। घटनाको वास्तविक कारण र समयक्रम पत्ता लगाउन सीसीटीभी फुटेज, फरेन्सिक परीक्षण, डिजिटल प्रमाण र स्थानीय बासिन्दाको बयान संकलन भइरहेको छ।
पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएपछि मृत्युको वास्तविक समय तथा घटनाबारे थप तथ्य खुल्ने अपेक्षा गरिएको प्रहरीले जनाएको छ।
