हामी कुनै पार्टीसँग मिल्दैनौँ : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा मिलेर प्रदेश सरकार गठन गर्ने प्रस्ताव आएको खुलासा गर्दै त्यसलाई अस्वीकार गरेको बताएका छन्।
ललितपुरमा आयोजित ‘नयाँ पुस्तासँग नेपाली कांग्रेसका सभापति साक्षात्कार’ तथा कृष्णप्रसाद भट्टराईको सालिक अनावरण कार्यक्रममा बोल्दै थापाले तीन दलको संयुक्त सरकार बनाउने प्रस्ताव नागरिकले दिएको जनादेशविपरीत हुने भएकाले कांग्रेस त्यसमा सहमत हुन नसक्ने स्पष्ट पारे।
‘अहिले तीनवटै पार्टी मिलेर प्रदेशमा सरकार बनाउने प्रस्ताव आएको छ। हामीले त्यसलाई गलत भनेका छौं। यसो गर्नु नागरिकले दिएको म्यान्डेटको सम्मान हुँदैन,’ उनले भने।
बागमती प्रदेश सरकारको भविष्यबारे उठेका प्रश्नको जवाफ दिँदै थापाले कांग्रेस सत्ता प्राप्तिका लागि आफ्नो सिद्धान्तसँग सम्झौता नगर्ने बताए।
उनले प्रदेशमा प्रमुख तीन दल मिलेर सरकार गठन गर्नु भनेको प्रदेशसभालाई प्रतिपक्षविहीन बनाउने प्रयास भएको टिप्पणी गरे। उनका अनुसार लोकतान्त्रिक व्यवस्थामा सशक्त प्रतिपक्ष आवश्यक रहने भएकाले सबै दल सरकारमै सहभागी हुने अभ्यास उचित नहुने बताए।
थापाले विगतमा सत्ता केन्द्रित राजनीतिका कारण अस्थिरता बढेको उल्लेख गर्दै अब कांग्रेसले आफ्नो सोच र प्राथमिकता परिवर्तन गर्नुपर्ने आवश्यकता महसुस गरेको बताए। ‘एउटासँग चुनावी गठबन्धन गर्ने, अर्कोसँग सरकार बनाउने प्रवृत्तिले राजनीति अस्थिर बनायो। सत्ता नै सबैथोक भन्ने सोचले मुलुकलाई सही दिशामा लैजान सकेन,’ उनले भने।
यता, कांग्रेसले कर्णाली प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाइसकेको छ भने मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पनि दर्ता गरिसकेको छ। एमालेसँगको पूर्वसमझदारीलाई निरन्तरता नदिने पक्षमा कांग्रेस नेतृत्व देखिएकाले कर्णाली प्रदेश सरकारको नेतृत्व परिवर्तनबारे राजनीतिक छलफल तीव्र बनेको छ।
