प्रचण्ड स्वदेश फिर्ता
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलङ्काको भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किएका छन्।
श्रीलङ्कामा आयोजित एसियाली संवाद कार्यक्रममा सहभागी भएका प्रचण्डले भ्रमणका क्रममा इन्टरनेशनल पिपुल्स एसेम्बलीद्वारा आयोजित ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गरेका थिए।
संयोजक दाहालको निजी सचिवालयका अनुसार उद्घाटन सत्रमा उनले विश्व शक्ति सन्तुलनमा देखिएको परिवर्तन, साम्राज्यवाद र नवउदारवादले सिर्जना गरेका चुनौती, दक्षिण एसियाली जनआन्दोलनका अनुभव तथा २१औँ शताब्दीको समाजवादको राजनीतिक अवधारणाबारे आफ्नो धारणा राखेका थिए।
भ्रमणका क्रममा प्रचण्डले श्रीलङ्काका प्रमुख वामपन्थी राजनीतिक दलका नेताहरूसँग उच्चस्तरीय भेटवार्ता समेत गरेका थिए। सचिवालयका अनुसार भेटवार्तामा द्विपक्षीय सम्बन्ध, वामपन्थी आन्दोलन र क्षेत्रीय राजनीतिक विषयमा छलफल भएको थियो।
