काठमाडौंमा २४ घण्टा ग्यास बिक्रीको तयारी [तस्वीरहरू]
काठमाडौं। ग्यास अभावका कारण उपभोक्ताले समस्या भोगिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले तत्कालका लागि काठमाडौंमा सबै किसिमका ग्यास सिलिन्डर एकै ठाउँबाट उपलब्ध गराउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन्।
शुक्रबार उद्योग मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन तथा छलफलमा पौडेलले ग्यासको अभाव समाधान नभएसम्म उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन बिक्री वितरण प्रणालीलाई व्यवस्थित गर्नुपर्ने बताएका हुन्।
उनले काठमाडौं उपत्यकाका ग्यास पसलहरू २४ सै घण्टा खुला राख्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए। व्यवसायीले आफ्नो अनुकूलमा पसल खोल्दा उपभोक्ताले आवश्यक समयमा ग्यास पाउन नसक्ने अवस्था रहेको भन्दै उनले मन्त्रालय, नेपाल आयल निगम र ग्यास व्यवसायीबीच समन्वय आवश्यक रहेको बताए।
‘बजार के गर्छ भने आफ्नो अनुकूलमा खोल्छ। २४ घण्टा बजार खोल्ने व्यवस्था मिलाउनुपर्छ। यसका लागि मन्त्रालय, निगम र व्यवसायीले समन्वय गर्नुपर्ने होला,’ पौडेलले भने, ‘त्यसका लागि जिल्ला प्रशासनले के सहयोग गर्नुपर्ने हो, हामी तयार छौँ। काठमाडौं जिल्लाका उपभोक्ताले भोग्नुपरेका समस्या समाधान हुन्छ भने २४ घण्टा खटिन तयार छौँ।’
सरकारले पनि काठमाडौंमा २४ सै घण्टा ग्यास बिक्री गर्ने तयारी अघि बढाएको छ। उद्योग मन्त्रालयमा भएको छलफलमा पौडेलले काठमाडौंका विभिन्न स्थान पहिचान गरी निश्चित बिक्री केन्द्रबाट चौबीसै घण्टा ग्यास उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिएका हुन्।
उनका अनुसार उपभोक्ताको चाप र आवश्यकता हेरेर काठमाडौंका विभिन्न क्षेत्रमा करिब ३० देखि ५० स्थानसम्म ग्यास बिक्री केन्द्र सञ्चालन गर्ने तयारी भइरहेको छ।
‘काठमाडौंका विभिन्न ठाउँ हेरेर ३०/४० वा ५० ठाउँमा ग्यास बिक्रीका लागि तयारी भइरहेको छ,’ पौडेलले भने।
ग्यास अभावका कारण लामो समयदेखि उपभोक्ताले कठिनाइ भोगिरहेको अवस्थामा बिक्री केन्द्रको संख्या बढाउने र सञ्चालन समय चौबीसै घण्टा पुर्याउने तयारी गरिएको हो।
प्रजिअ पौडेलले तत्कालीन अवस्थामा सबै ब्रान्डका ग्यास सिलिन्डर उपभोक्तालाई सहज रूपमा उपलब्ध हुने गरी वितरण प्रणाली मिलाउनुपर्ने बताए। त्यसो गर्न सके ग्यासको खोजीमा उपभोक्ताले विभिन्न ठाउँ धाउनुपर्ने बाध्यता कम हुने उनको भनाइ छ।
ग्यास बिक्री तथा वितरणलाई व्यवस्थित बनाउन उद्योग मन्त्रालय, नेपाल आयल निगम, ग्यास उद्योगी तथा व्यवसायी र स्थानीय प्रशासनबीच समन्वय गरेर आवश्यक व्यवस्था मिलाउने तयारी गरिएको छ।
जिल्ला प्रशासनले उपभोक्ताको समस्या समाधानका लागि आवश्यक सहयोग गर्न आफूहरू चौबीसै घण्टा तयार रहेको पौडेलले बताएका छन्।







