`

साढे चार महिनामै ११ हजार कर्मचारी कारबाहीमा

Nepal One HD ४ भदौ २०८३ १७:००
प्रशासन

काठमाडौं। राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा हुने प्रशासनिक ढिलासुस्ती, अनुशासनहीनता र आचारसंहिता उल्लङ्घन नियन्त्रणका लागि अनुगमन तथा कारबाहीलाई तीव्र बनाएको छ ।

केन्द्रले पछिल्लो साढे चार महिनामा ११ हजारभन्दा बढी कर्मचारीलाई विभिन्न कसुरमा कारबाही गरेको जनाएको छ ।

केन्द्रका अनुसार चैतदेखि साउनसम्म देशभरका ९२४ सरकारी कार्यालयमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा ११ हजार ४ जना कर्मचारी कारबाहीमा परेका छन् ।

कारबाहीमा पर्नेमा सबैभन्दा धेरै आचारसंहिता उल्लङ्घन गर्ने १० हजार २६८ जना रहेका छन् । त्यस्तै, तोकिएको पोशाक नलगाउने ६४५ जना र कार्यालय समयमा कार्यकक्षमा अनुपस्थित भेटिएका ९१ जना कर्मचारीमाथि कारबाही गरिएको केन्द्रले जनाएको छ ।

गत वर्षको सोही अवधिमा भने ३१८ सरकारी कार्यालयमा मात्रै अनुगमन गरिएको थियो । त्यस क्रममा २ हजार ७७५ कर्मचारी कारबाहीमा परेका थिए । यस वर्ष अनुगमनको दायरा र कारबाहीमा परेका कर्मचारीको संख्या दुवै उल्लेख्य रूपमा बढेको देखिएको छ ।

केन्द्रका अनुसार चैतदेखि साउनसम्म सरकारी निकायसँग सम्बन्धित १ हजार २९८ वटा उजुरी प्राप्त भएका छन् । तीमध्ये १ हजार ११४ वटा उजुरी फर्छ्यौट भइसकेका छन् ।

उजुरी फर्छ्यौटको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११ दशमलव ७२ प्रतिशतले बढी रहेको केन्द्रले जनाएको छ ।

सरकारी कार्यालयमा कर्मचारीको नियमित उपस्थिति, तोकिएको पोशाकको प्रयोग, आचारसंहिताको पालना तथा सेवा प्रवाहमा हुने ढिलासुस्तीलाई निगरानीको दायरामा राखिएको केन्द्रको भनाइ छ ।

केन्द्रले सरकारी निकायमा भ्रष्टाचार, कर्मचारीबाट आचारसंहिता उल्लङ्घन वा शंकास्पद सम्पत्तिसम्बन्धी गतिविधिबारे जानकारी भएमा सूचना दिन सर्वसाधारणलाई आग्रह गरेको छ ।

त्यसका लागि केन्द्रले ०१४२००३४५ नम्बरको हटलाइनमा जानकारी गराउन सकिने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *