`

सुनवल कांग्रेस अधिवेशनमा कागज च्याताच्यात, के हो लफडा?

Nepal One HD ९ असोज २०८३ १३:१३
बिशेष

नवलपरासी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनवल नगर अधिवेशनमा मतदान सुरु हुनै लाग्दा विवाद चर्किएपछि निर्वाचन प्रक्रिया स्थगित भएको छ।

उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरी मतदानको तयारी भइरहेका बेला कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वगृहराज्य मन्त्री देवेन्द्रराज कँडेल निर्वाचनस्थलमा प्रवेश गरेपछि विवाद सुरु भएको निर्वाचन समितिले जनाएको छ।

समितिका अनुसार कँडेलले नेता भीमबहादुर थापा ‘भरत’को हातबाट उम्मेदवारको नामावलीसम्बन्धी कागज खोसेर च्यातेका थिए। त्यसपछि उनले माइकसमेत खोसेर ‘यो चुनाव हुँदैन’ भन्दै फालिदिएको समितिको भनाइ छ।

निर्वाचनसम्बन्धी फाइलसमेत च्यातिएपछि दुई पक्षबीच विवाद बढेको थियो। स्थिति थप तनावपूर्ण बन्न सक्ने देखिएपछि निर्वाचन समितिले शान्ति सुरक्षाको कारण देखाउँदै मतदान स्थगित गरेको हो।

विवादपछि प्रहरीले कँडेललाई सुरक्षा दिँदै सुनवल चौराहसम्म पुर्‍याएको थियो।

सुनवल नगर समितिका बाँकी पाँच पदाधिकारीका लागि मात्र मतदान हुन बाँकी थियो। नगर समिति सदस्यका लागि आवश्यक संख्यामा मात्रै उम्मेदवारी परेकाले ती पदमा निर्विरोध चयन भइसकेका थिए।

बाँकी पदाधिकारीका लागि बिहीबार साँझ साढे ६ बजे मतदान गर्ने तयारी थियो। मतदानका लागि ३५६ मतदाता कायम थिए।

तर, मतदानको समय नजिकिँदै गर्दा कँडेल पक्षले निर्वाचन शुक्रबार सार्नुपर्ने अडान लिएपछि विवाद चर्किएको थियो। अर्को पक्षले भने मतदाता निर्वाचनस्थलमा आइसकेकाले निर्धारित समयमै मतदान गर्नुपर्ने अडान राखेको थियो।

दुई दिनसम्म सहमतिको प्रयास गर्दा नेतृत्व चयनमा समझदारी नजुटेपछि दुवै पक्ष प्यानलसहित चुनावी मैदानमा उत्रिएका थिए।

सभापतिमा यमलाल पाण्डे र यज्ञप्रसाद पाण्डेबीच प्रतिस्पर्धा हुने तय भएको थियो। कार्यकर्ताका अनुसार यमलाल पाण्डे भीमबहादुर थापा ‘भरत’ पक्षबाट र यज्ञप्रसाद पाण्डे देवेन्द्रराज कँडेल पक्षबाट उम्मेदवार बनेका हुन्।

सुनवलको विवादलाई नवलपरासी कांग्रेसभित्रको पुरानो राजनीतिक प्रतिस्पर्धासँग जोडेर पनि हेरिएको छ।

गत प्रतिनिधिसभा निर्वाचनका क्रममा कँडेल र थापा दुवैले टिकट पाएपछि उनीहरूबीचको राजनीतिक प्रतिस्पर्धा थप चर्किएको कांग्रेस कार्यकर्ताहरू बताउँछन्। उक्त निर्वाचनमा थापाको उम्मेदवारी कायम रहे पनि कँडेलको उम्मेदवारी रद्द भएको थियो।

त्यही प्रतिस्पर्धाको प्रभाव अहिले नगर अधिवेशनमा समेत देखिएको केही कार्यकर्ताको दाबी छ। सुनवल थापाको गृहक्षेत्र भएकाले संगठनमा थापा पक्ष बलियो हुनसक्ने आकलनका कारण कँडेल पक्षले तत्काल मतदान गर्न नचाहेको उनीहरूको भनाइ छ।

यद्यपि, यो दाबी दुवै पक्षबाट औपचारिक रूपमा पुष्टि भएको छैन।

निर्वाचन अधिकृत दीपक अर्यालले दुई पक्षबीच आवश्यक समन्वय र छलफल गरेपछि स्थगित मतदान प्रक्रिया अघि बढाइने बताएका छन्।

नवलपरासीका सात स्थानीय तहमध्ये सुनवलबाहेक ६ पालिकामा कांग्रेसको नगर तथा गाउँ अधिवेशन सम्पन्न भएको छ।

प्रतापपुर गाउँपालिकामा केशव अधिकारी सभापतिमा निर्वाचित भएका छन्। सभापतिका प्रतिस्पर्धी संघर्ष जयसवालले ६८ मत पाउँदा अधिकारीले १३० मत प्राप्त गरेका थिए। अधिकारी प्रतापपुर–६ का वडाध्यक्षसमेत हुन्।

पाल्हीनन्दन गाउँपालिकामा रविन्द्र सहानी सभापतिमा निर्वाचित भएका छन्। १४० मतदाता रहेको पाल्हीनन्दनमा १३६ मत खसेको थियो। सहानीले ८९ मत पाउँदा उनका प्रतिस्पर्धी दिनेशमणि पटेलले ४७ मत पाए।

निर्वाचन अधिकृत सुरेन्द्रबहादुर सिंहले सहानी निर्वाचित भएको घोषणा गरेका थिए।

रामग्राम, बर्दघाट, सुस्ता र सरावलमा भने सबै पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *