चलचित्र ‘तिलस्मी’ को पोस्टर सार्वजनिक
काठमाडौं । तारा अधिकारीको निर्देशनमा बनेको नेपाली चलचित्र ‘तिलस्मी’को पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा चलचित्रका तीन प्रमुख कलाकारलाई आकर्षक शैलीमा प्रस्तुत गरिएको छ।
सुनौलो तारा मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रको पोस्टरमा जाहन्वी बस्नेत, सुनिशा बजगाईं र महेश खड्का देखिएका छन्। तीन पात्रलाई एकअर्कासँग जोडेर फरक शैलीमा प्रस्तुत गरिएको पोस्टरले चलचित्रको कथावस्तुबारे दर्शकमाझ कौतूहल जगाउने देखिन्छ।
आगामी पुस २४ गतेदेखि प्रदर्शनमा आउने चलचित्रमा जाहन्वी बस्नेत, सुनिशा बजगाईं, महेश खड्का, आरजे सिंह, रश्मि भट्ट, भविष्य कार्की र सुभाष भण्डारीलगायत कलाकारको अभिनय रहेको छ।
चलचित्रको कथा, निर्माण र निर्देशन तारा अधिकारीले गरेकी हुन्। गीतकारसमेत रहेकी अधिकारीको यो पहिलो निर्देशन हो। चलचित्रको पटकथा तथा संवाद बाबुराम निरौलाले लेखेका छन्। संगीत सुमन केसी र किरण कँडेलले तयार पारेका छन्।
चलचित्रको छायांकन बिनोद बलले गरेका छन् भने ध्वनि डिजाइन अमित श्रेष्ठको रहेको छ। प्रमुख सहायक निर्देशकमा इलियास शेख र सहायक निर्देशकमा अनुजा अधिकारी छन्। प्रोडक्सन म्यानेजरको जिम्मेवारी मनिष डीके र सुवास राईले सम्हालेका छन्।
त्यस्तै, चलचित्रको ब्याकग्राउन्ड स्कोर पार्किष गिरी र अमित श्रेष्ठले तयार पारेका हुन्। सम्पादन नहकुल खड्काले गरेका छन्। पारिवारिक कथावस्तुमा आधारित चलचित्रमा राजीव समरको कोरियोग्राफी र राजेन्द्र मोक्क्तानको कलर संयोजन रहेको छ।
चलचित्रको प्रचार सामग्री टौवा क्रियसनले डिजाइन गरेको हो। यसको वितरण कृति इन्टरटेनमेन्ट र नेसनल सिने ग्रुपले गर्नेछन्।
