`

विकास आयोजना समयमै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन

Nepal One HD ५ मंसिर २०८३ ६:३६
राजनीति

धनुषा । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले धनुषामा सञ्चालित तथा प्रस्तावित विकास आयोजनाको स्थलगत अनुगमन गर्दै निर्माणकार्य तीव्र पार्न निर्देशन दिएका छन् ।

मन्त्री लम्सालले बिहीबार धनुषा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत ढल्केबरको पोखरिया, इच्छापुर, नक्टाझिझ, रमदैया–सिर्सिया पुल तथा अन्दुपट्टी–कटरैत पुललगायत क्षेत्रको निरीक्षण गरेका हुन् ।

अनुगमनका क्रममा उनले सडक, पुल तथा अन्य पूर्वाधार आयोजनाको निर्माण अवस्था र प्रगतिबारे जानकारी लिँदै लामो समयदेखि अधुरा रहेका र निर्माणमा ढिलाइ भएका आयोजनालाई प्राथमिकताका साथ अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिए ।

उनले विकास आयोजना कागजमा मात्र सीमित नभई नागरिकले प्रत्यक्ष लाभ पाउने गरी कार्यान्वयन हुनुपर्ने बताए । निर्माणको गुणस्तर र समयसीमामा सम्झौता नगर्न पनि उनले आग्रह गरे ।

मन्त्री लम्सालले जनकपुरधामको विकास, सौन्दर्यीकरण तथा धार्मिक पर्यटन प्रवर्द्धनलाई सरकारले प्राथमिकतामा राखेको बताए । उनले मणिमण्डपको अवलोकन गर्दै त्यसलाई वैवाहिक गन्तव्यस्थलका रूपमा विकास गर्ने योजना रहेको जानकारी दिए ।

त्यसैगरी, रामजानकी स्टेडियमको निरीक्षण गर्दै खेलकुद पूर्वाधारको विकास र स्तरोन्नतिमा ध्यान दिने बताए ।

मधेस प्रदेशको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले सडक, पुल, भवन तथा खानेपानीलगायत पूर्वाधार निर्माणका लागि पर्याप्त बजेट व्यवस्था गरिएको बताए । अधुरा आयोजना सम्पन्न गर्ने र नयाँ योजना आवश्यकताका आधारमा अघि बढाउने सरकारको प्राथमिकता रहेको उनको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *