`

दल विशेषको राष्ट्रपति बनाउने कुरा संविधान विपरीत छ : देव गुरुङ

Nepal One HD ८ फागुन २०७९ १७:४३
राजनीति

काठमाडौँ – नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले दल विशेषको राष्ट्रपति बनाउने कुरा संविधान विपरीत भएको टिप्पणी गर्नुभएको छ । 

सोमबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा  सञ्चारकर्मीसँग कुरा गर्दै गुरुङले पार्टी विशेषको व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा संविधानमा नै नरहेको बताउनुभएको हो । उहाँले एमाले पार्टी विशेषलाई राष्ट्रपति दिने भन्ने कुरा पनि संविधान विपरीत नै रहेको जिकिर गर्नुभयो । 

राष्ट्रपतिका लागि कुनै दलले प्रस्ताव राख्ने कुरा स्वाभाविक भए पनि कुनै दल विशेषलाई नै राष्ट्रपति बनाउने भन्ने विषय फरक रहेको उहाँले बताउनुभयो । गुरुङले राष्ट्रपति संविधानको संरक्षक भएकाले साझा व्यक्तिका रूपमा उक्त संस्थामा प्रवेश गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले राष्ट्रपति गठबन्धनसँग जोडिएको विषय नभएको समेत बताउनुभयो । 

यसअघि भएको कटुवाल प्रकरण, संसद विघटन प्रकरण, सरकारको सिफारिस कार्यान्वयन नभएको विषय लगायतलाई हेर्दा राष्ट्रिय सहमतिका आधारमा दलबाहिरको व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने उहाँले बताउनुभयो । 


प्रतिक्रिया