`

जनतालाई दिग्भ्रमित पार्न विरोधीहरु लागि परेका छन् : अध्यक्ष ओली

Nepal One HD २० फागुन २०७९ १३:१५
प्रमुख खबर

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनतालाई दिग्भ्रमित पार्न विरोधीहरु लागि परेका बताएका छन् ।


आज भक्तपुरमा आयोजित नेपाल बुद्धिजीवी परिषद्को तेस्रो बैठकलाई सम्बोधन गर्दै उनले राम्रो गर्न खोज्दा एमालेमाथि प्रहार भइरहेको र जनतालाई भ्रममा पार्ने काम भइरहेको बताएका हुन् ।


उनले एमालेजस्तो पार्टी निर्वाचनमा हार्छ भने जनतालाई चेतनाको स्तर कहाँ छ भन्ने मूल्याङ्कन गर्नुपर्ने र जनतामा जागरण ल्याउनुपर्ने बताए । उनले राजनीतिमा हरेक प्रणाली गाँसिएको हुने बताए । सामाजिक परिवर्तनका विरोधीहरु जनता अल्मल्याउन सफल हुँदा एमालेले हार्नुपरेको उनको भनाई छ ।


ओलीले भने– सयजना विरोधीले एकैपटक आक्रमण गरे भने नआत्तिनुस्,तपाईको विचारबाट उनीहरु तर्सिए,आत्तिए र एकैपटक आक्रमण गर्न संगठित ढंगले सक्रिय भएका हुन् । नकारात्मक टिप्पणीको बाढी आउनु भनेको तपाईंका विचारसँग आत्तिएर उनीहरु खनिएका हुन् ।


उनीहरुले तपाईंको विचारलाई इग्नोर गर्न सक्थे तर तपाईको प्रस्तुति यति प्रभावकारी छ कि उनीहरुले इग्नोर गर्न सक्दैनन् र संगठित ढंगले हमला गर्छन् ।


ओलीले आजको सोसल मिडिया र आर्टिफिसियल इन्टेलिजेन्सलाई प्रयोग गरेर बौद्धिक जगतमा हाबी हुन बुद्धिजिवीहरुलाई आग्रह गरे । उनले थोरै भए पनि सकारात्मक कमेन्ट आए भने पनि ठिक हुने भन्दै एमालेनिकट बुद्धिजिवीहरु संगठित ढंगले प्रतिवादमा नउत्रिएका कारण साजाजिक संजाल र मिडियामा नकारात्मक विचार राख्ने समूह हाबी भएको बताए ।


प्रतिक्रिया