राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन साँठगाँठ प्रणालीमा चल्याे : अध्यक्ष ओली
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन लोकतान्त्रिक भन्दा पनि साँठगाँठ प्रणालीमा चलेको आरोप लगाउनुभएको छ ।
शुक्रबार संसद भवन नयाँ बानेश्वरमा उपराष्ट्रपति निर्वाचनमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले लोकतान्त्रिक प्रणालीमा हारजित हुनु स्वाभाविक भए पनि अहिले साँठगाँठको प्रणाली भएको बताउनुभएको हो । उहाँले काँग्रेस सँगको सहकार्यका विषयमा अहिले नै भन्ने बेला नआएको जिकिर गर्नुभयो ।
आफ्नो काँग्रेससँग सहकार्य हुन सक्छ भन्ने अभिव्यक्तिप्रति काँग्रेसकै केही नेताहरू त्रसित भएको उहाँले बताउनुभयो । एक जना चर्का काँग्रेसले कति सालपछि प्रतिपक्षमा भेट होला भनेर अभिव्यक्ति दिएको र यसले काँग्रेसभित्रै ठुलो गडबडी रहेको हुनसक्ने उहाँको भनाइ छ । त्यस्तै उहाँले एमाले देश र जनताका लागि काम गर्ने भन्दै केन्द्र लगायत प्रदेश सरकारमा प्रतिपक्षीमा बसेर काम गर्दा राजनीति नगुम्ने तर्क गर्नुभयो ।
ओलीले शान्ति प्रक्रियाका बाँकी काम समयमा नै टुङ्गाउनुपर्ने र सङ्क्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयकमा एमालेले आवश्यक धारणा तय गर्ने बताउनुभयो ।
