`

मिटरब्याज पीडितलाई प्रधानमन्त्री प्रचण्डको आश्वासन : सबै माग पूरा गर्ने तयारीमा छु

Nepal One HD १८ चैत २०७९ ११:४२
प्रमुख खबर

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले कानून बनाएर दीर्घकालीन रुपमै यसको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शनिबार न्याय माग्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका मिटरब्याज पीडितको गुनासो सुनेपछि प्रचण्डले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले मिटरब्याज पीडितहरुका समस्या दीर्घकालीन समाधानका लागि ऐनको नै व्यवस्था नभएकाले अब सरकारले ऐन निर्माणको काम थालिसकेको बताए । उनले मिटरब्याजीलाई ऐनद्वारा नै कारबाही गर्न र उनीहरुमाथि मुद्दा चलाउन सक्नेगरी ऐन तयारीको अन्तिम चरणमा रहेको स्पष्ट पारे ।

उनले भने, ‘मिटरब्याजीलाई ऐनद्वारा नै कारबाही गर्न सकियोस्, उनीहरुमाथि मुद्दा चलाउन सकियोस् भनेर ऐन बनाउने प्रक्रिया अघि बढाइएको छ । मिटरब्याजीको समस्या अहिले समाधान भएन भने कहिल्यै पनि हुँदैन । मिटरब्याजी समस्यालाई लिएर मन्त्रीस्तरीय बैठकबाट नै एउटा उच्चस्तरीय आयोग तत्काल फिल्डमा गएर कारबाही गर्नसक्ने, न्यायिक अधिकारसमेत प्रयोग गर्नसक्ने आयोग बनाउने निर्णय मन्त्रीपरिषद्ले गरेको छ । त्यो प्रक्रिया अघि बढीसकेको छ । त्यसलाई र्‍यापिड एक्शन पोस्ट जस्तो गरेर जाओस्, त्यसले मान्छेलाई बोलाउने, पूर्जि काट्ने र कारबाही गर्ने खालको होस् ।’

प्रधानमन्त्री दाहालले मिटरब्याज पीडितका सबै माग पूरा गर्ने तयारीमा आफू रहेको बताए ।


प्रतिक्रिया