`

कांग्रेस केन्द्रीय समिति बैठक, सरकारको भूमीकामाथि पनि प्रश्न उठ्यो

Nepal One HD ७ असोज २०८० १४:३३
प्रमुख खबर

काठमाडौ– नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले सरकारको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।
पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा धारणा राख्ने सदस्यहरुले पार्टीका तर्फबाट सरकारमा सहभागी भएरमात्रै नपुग्ने भन्दै सरकारको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन् । साथै उनीहरुले सरकारलाई जनमुखी र प्रभावकारी बनाउनका लागि प्रधानमन्त्रीलाई समेत आग्रह गर्नुपर्ने धारणा राखेका थिए । आइतबार सम्पन्न बैठकपछि प्रचार बिभाग प्रमुख मीन विश्वकर्माले केन्द्रीय सदस्यहरुले जनतालाई प्रत्यक्ष महशुस हुने गरि सरकारको कामलाई प्रभावकारी बनाउनुपर्ने धारणा आएको जानकारी दिए । धेरै सदस्यले निश्चित उदेश्यका साथ बनाइएको गठबन्धनलाई निरन्तर अघि बढाउनुपर्ने धारणा राखेको उनको भनाइ छ ।

बैठकमा सरकारले गरेको ठिक कामलाई जनतामाझ पुराउनुपर्ने र सरकारको कमीकमजोरीका बारेमा औल्याउनुपर्ने आवाज उठेको छ । अहिले गठबन्धनको सरकार भएकाले प्रधानमन्त्रीले सन्तुलित ढंगले लैजानुपर्ने र सन्तुलन गर्न नसके समस्या आउने कांग्रेसको ठहर छ ।

सरकार ढल्ने र नढल्ने बिषय सरकारको कामकारवाहीमा भर पर्ने भएपनि सरकार परिवर्तनमा कांग्रेसले फर्केर नहेरेको प्रचार बिभाग प्रमुख मीन विश्वकर्माले बताए । बैठक सोमबार ११ बजे पुनः बस्ने कांग्रेसले जनाएको छ ।


प्रतिक्रिया