`

आसन्न निर्वाचनलाई ध्यानमा राख्दै शान्ति सुरक्षा चुस्त बनाउन कार्यवाहक प्रधानमन्त्री खड्काको निर्देशन

Nepal One HD ४ माघ २०८० २१:०४
प्रमुख खबर

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको समग्र सुरक्षास्थितिबारे छलफल गरेका छन् । बिहीबार रक्षा मन्त्रालयमा भएको छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मुख्य सचिव, प्रधानसेनापति, गृह सचिव, निमित्त रक्षा सचिव, नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धानका अतिरिक्त मुख्य अनुसन्धान निर्देशकसँग कार्यवाह प्रधानमन्त्री खड्काले मुलुकको सुरक्षास्थितिबारे छलफल गरेका हुन् ।

रक्षामन्त्री खड्कालाई सहभागी पदाधिकारीहरूले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सुरक्षा तयारी र देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे जानकारी गराएका थिए ।

त्यस अवसरमा रक्षामन्त्री खड्काले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचन समेतलाई ध्यानमा राखी शान्ति सुरक्षाको अवस्था दुरुस्त राख्न तथा भरपर्दो प्रबन्ध मिलाउन निर्देशन दिए । साथै उनले सुरक्षा बहुआयामिक विषय भएकाले त्यस कुरामा विशेष ध्यान दिन आग्रह गरे ।

सो अवसरमा उनले जातीय, क्षेत्रीय तथा धार्मिक विषयसँग जोडिएका विभिन्न गतिविधिहरूले शान्ति सुरक्षामा पार्न सक्ने नकारात्मक असरबारे विशेष ध्यान दिन समेत निर्देशन दिए ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशको समग्र शान्ति सुरक्षाको स्थिति सामान्य भए पनि विभिन्न तरिकाले सञ्चालित गतिविधिहरुलाई ध्यानमा राखी शान्ति सुरक्षा कायम गर्ने कुरामा विशेष ध्यान दिन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिए । बैठकमा मुलुकको समग्र शान्ति सुरक्षाबारे समीक्षा गर्नुका साथै आगामी दिनमा चाल्नुपर्ने कदमहरुबारे छलफल गरिएको थियो ।


प्रतिक्रिया