`

गार्गी कन्या गुरुकुलको अक्षयकोषका लागि महायज्ञ, राष्ट्रपतिले उद्घाटन गर्नुहुने

Nepal One HD २९ माघ २०८० ६:३९
समाचार

काठमाडौँ- गार्गी कन्या गुरुकुलले अक्षयकोष स्थापनाका लागि आउँदो फागुन १ गतेदेखि पशुपतिनाथ क्षेत्रस्थित सुमार्गी भवनमा सप्ताह ज्ञान महायज्ञ गर्ने भएको छ । उक्त महायज्ञको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुहुने आयोजकले आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

गुरुकुललाई दिगोरुपमा सञ्चालन गर्न, बालिकामा गुरुकुल शिक्षाको महत्व बढाउन र गुरुकुलको अक्षयकोष स्थापनाका लागि गार्गी कन्या गुरुकुल प्रतिष्ठान काठमाडौँले श्रीमद् भागवत महापुराण गर्न लागेको आयोजक समितिका संयोजक गोविन्द टण्डनले जानकारी दिनुभयो ।समाजसेवी भगवती उपाध्यायद्वारा विसं २०५२ देखि चितवनको देवघाटधाममा सञ्चालन गरेको श्रीरामजानकी वेदविद्याश्रम र प्रतिष्ठित विदुषी स्वर्गीय अङ्गुरबाबा जोशीको इच्छाअनुसार २०६७ सालदेखि काठमाडौँमा गार्गी कन्या गुरुकुल सञ्चालनमा छ ।देशको पहिलो तथा समावेशी गुरुकुलमा कक्षा ६ देखि १२ सम्मको औपचारिक कक्षा सञ्चालन भइरहेको छ । यो गुरुकुलमा देशभरका ४७ जिल्लाबाट ८० जना बालिकाले आवासीय सुविधासहित निःशुल्क शिक्षा प्राप्त गरिरहेका छन् ।गार्गी कन्या गुरुकुलमा शास्त्रीय विषयको अध्यापन, वेद र विज्ञानको संयुक्त अध्यापन, नृत्य, वाद्यवादन र गायनको प्रशिक्षण, शास्त्रार्थ, प्रवचन, काव्यगोष्ठीजस्ता रचनात्मक क्रियाकलापमा सहभागिताको साथै ज्योतिष, कम्प्युटरलगायत विषय अध्यापन हुन्छ ।बालविवाह अन्त्य गर्न, छोरीलाई शिक्षित बनाएर चेतना बढाउने उद्देश्यले नेपालमा गुरुकुलको आवश्यकता देखिएपछि गुरुकुल स्थापना गरिएको महायज्ञ आयोजना समितिका सहसंयोजक टेकनाथ पौडेलले बताउनुभयो ।


प्रतिक्रिया