`

गठबन्धन सरकारबिरुद्ध अनेरास्ववियु आन्दोलनमा उत्रने

Nepal One HD ६ फागुन २०८० १४:३६
राजनीति

काठमाडौ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले गठबन्धन सरकारबिरुद्ध चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । फागुन २ गतेदेखि ४ गतेसम्म काठमाडौंमा बसेको तेस्रो केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियुले सरकारले बिभिन्न प्रकरणमा संलग्नहरुलाई जोगाउने, माफियाहरुलाई पोस्ने काम गरेको भन्दै सरकारबिरुद्ध चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले शिक्षासम्बन्धी हकको पूर्ण कार्यान्वयनका लागि हाल संसदमा छलफलमा रहेको विधालय शिक्षासम्बन्धी विधेयकलाई सुझावसहित पारित गर्न माग गरेको छ । संगठले विधान बमोजिम केन्द्रीय कमिटीमा दश प्रतिशत मनोनित गर्दा ३० बर्षसम्मको उमेर समूहको मापदण्डलाई कार्यान्वयन गर्ने निर्णय गरेको छ भने बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न र दोषीलाई कारवाही गर्न पनि माग गरिएको छ । पत्रकार सम्मेलनमा अनेरास्ववियुका अध्यक्ष समिक बडालले सरकार निकट विद्यार्थी संगठनहरुले कानून हातमा लिएर अराजकता मच्चाउदा पनि सरकार मुगदर्शक बनेको आरोप लगाए । शिक्षा क्षेत्रमा प्रभावकारी भूमिका खेल्न सरकारको ध्यानाकर्षण गराउने र यसका लागि सडकमा जाने निर्णय भएको उनले बताए ।

त्यस्तै अनेरास्ववियुले अखिल पाठशाला कार्यक्रम सञ्चालन गर्ने, स्ववियु कप राष्ट्रिय भलिवल प्रतियोगीता आयोजना गर्ने, कर्णाली प्रदेश लगाएतका दुर्गम क्षेत्रमा हवाई भाडामा ३३ प्रतिशत विद्यार्थी छुटका लागि सरकारलाई दववा दिने लगाएतका निर्णय गरेको छ ।


प्रतिक्रिया