’प्रत्येक दिन एउटा सूर्यजति वस्तु निल्ने ब्ल्याक होल फेला


बीबीसी । वैज्ञानिकहरूले अहिलेसम्म थाहा भएकामध्ये सबैभन्दा चहकिलो वस्तु सुदूर अन्तरिक्षमा पत्ता लागेको बताएका छन् । त्यो ‘क्वेजार’ एउटा विशाल ब्ल्याक होलबाट ऊर्जा प्राप्त गर्ने आकाशगङ्गाको मध्यभाग हो ।
उक्त ब्ल्याक होलको पिण्डमान हाम्रो सूर्यको भन्दा १५ अर्ब गुना बढी छ । उक्त क्वेजारलाई वैज्ञानिकहरू जे०५२९–४३५१ (J0529-4351) नामकरण गरेका छन् । चिलेस्थित ’भेरी लार्ज टेलिस्कोप’ (भीएलटी) बाट गरिएका अवलोकनबाट उक्त खगोलीय वस्तु कति शक्तिशाली छ भन्ने पुष्टि भएको हो ।
वैज्ञानिक जर्नल ’नेचर अस्ट्रोनमी’मा प्रकाशित एउटा सामग्रीमा वैज्ञानिकहरूले उक्त ब्ल्याक होल ‘निकै खन्चुवा’ भएको र त्यसले प्रत्येक दिन एउटा सूर्यको जति पिण्डमान निल्ने जानकारी दिएका छन् ।
जे०५२९–४३५१ धेरै वर्षअघि तथ्याङ्कमा उल्लेख भएको थियो। तर त्यसको वास्तविक स्वभाव बल्ल अहिले पत्ता लागेको हो । स्ट्रेलियन न्याश्नल यूनिभर्सिटीका क्रिस्टियन वुल्फले त्यो सम्भवतः मानवजाति अस्तित्वमा आउनुअघिदेखि नै तेजिलो भएर चम्किरहेको बताएका छन् । खगोलशास्त्रीहरू एक प्रकारको एक्टिभ गल्याक्टिक न्यूक्लिअस (एजीएन) लाई क्वेजार भन्छन् ।
क्वेजार तारापुञ्जको निकै ऊर्जावान् मध्यभाग हो र पदार्थहरूलाई तीव्र गतिमा आफूतिर तान्ने एउटा निकै ठूलो ब्ल्याक होलले यसलाई ऊर्जा प्रदान गर्छ । ब्ल्याक होलले तानेको पदार्थ तीव्र गतिमा त्यसवरिपरि पुग्दा टुक्रिन्छ र ठूलो परिमाणमा प्रकाश निस्किन्छ ।
प्रकाश यति धेरै हुन्छ कि जे०५२९–४३५१ जस्तो टाढा रहेको वस्तु पनि पृथ्वीबाट देखिन्छ । यो क्वेजारबाट १२ अर्ब वर्षअघि उत्पन्न प्रकाश भीएलटीस्थित डिटेक्टरहरूले पत्ता लगाएका हुन् । वैज्ञानिकहरूका अनुसार यसबाट उत्सर्जन हुने ऊर्जाका कारण यो क्वेजार सूर्यभन्दा ५ हजार खर्ब गुणा उज्यालो छ ।