`

आँखा चिकित्सक डा सन्दूक रुइतलाई एक लाखसहित सम्मान

Nepal One HD २४ साउन २०८१ २०:५४
जीवनशैली/स्वास्थ्य

मोरङ, २४ साउनः प्रसिद्ध आँखा चिकित्सक डा सन्दूक रुइत र सनातन धर्म शङ्करराचार्य पीठ वेद वेदवेदाङ्ग संस्कृत पाठशाला झापालाई आज यहाँ एक समारोहबीच सम्मान गरिएको छ ।पूर्वप्रधानमन्त्री नगेन्द्र प्रसाद–आशालता रिजाल प्रतिष्ठान विराटनगरद्वारा स्थापित रु एक लाख राशिको ज्ञान विज्ञान पुरस्कार डा रुइतलाई र रु एक लाख राशिको धर्म संस्कृति पुरस्कारबाट संस्कृत पाठशालालाई प्रदान गरिएको हो ।

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले पुरस्कार प्रदान गर्दै आँखा उपचार क्षेत्रमा स्वदेश तथा विदेशमा ठूलो योगदान दिनुभएका डा रुइतप्रति नेपाली जनता गौरव अनुभूति गरेको बताउनुभयो । उहाँले हाम्रो देशमा विविध जातजाति, भाषासंस्कृति बसोबास गर्ने नागरिकबीच आपसी मेलमिलाप, एकता र धार्मिक सहिष्णुताबाट मुलुक र समाजमा समृद्धि कायम हुने विचार राख्नुभयो ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले मुलुकको नाम विश्वमा फैलाउन सफल हुनुभएका डा रुइतलाई सम्मान गर्न पाउँदा निकै खुशी लागेको बताउनुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सीमित स्रोत साधनको अधिकतम उपयोग गरी नागरिकलाई स्वास्थ्य सेवा एवं नगरको विकासकार्य गरिरहेको विचार व्यक्त गर्नुभयो ।

सम्मानित व्यक्तित्व डा रुइतले यस सम्मानबाट आफू खुशी भएको उल्लेख गर्दै जनताको अकाल मृत्युलाई जोगाउन सरकारले आवश्यक अनुगमनसहित गुणस्तरीय सवारी साधन र हवाई यातायातको प्रयोग गर्नुपर्ने सुझाव दिनुभयो ।

प्रतिष्ठानका अध्यक्ष इन्दिरा रिजाल, सम्मानित सस्कृत पाठशालाका प्राचार्य लक्ष्मी खतिवडा र अच्युत प्रपन्नचार्य र प्राडा हरिप्रसाद अधिकारीले समाजमा धर्म संस्कृतिको रक्षा गर्न हामीसबै लाग्नुपर्नेमा जोड दिनुभयो ।स्व रिजाल विस २०३० र २०४२ मा गरी दुईपटक प्रधानमन्त्री हुनुभएको थियाे ।


प्रतिक्रिया