`

एआईसम्बन्धी आविष्कारका लागि दुई जना वैज्ञानिकलाई भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार

Nepal One HD २२ असोज २०८१ १७:४०
विश्व

बीबीसी । यसवर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार आर्टिफिशल इन्टेलिजन्स (एआई)सम्बन्धी अनुसन्धानका लागि दुई वैज्ञानिकले संयुक्त रूपमा पाउने भएका छन् ।

अमेरिकी वैज्ञानिक जोन जे हप्फील्ड र ब्रिटिश क्यानडेली कम्युटर वैज्ञानिक जेफ्री ई हिन्टनलाई ‘आर्टिफिशल न्यूरल नेटवर्कमार्फत् मशीन लर्निङलाई सक्षम बनाउन आधारभूत खोज तथा आविष्कार गरेकोमा’ उक्त पुरस्कार दिने निर्णय गरिएको गरिएको हो भौतिक शास्त्रतर्फ अहिलेसम्म २२४ जनाले नोबेल पुरस्कार पाएका छन् ।

हप्फील्ड संयुक्त राज्य अमेरिकको प्रिन्स्टन यूनिभर्सिटीमा र हिन्टन क्यानडास्थित यूनिभर्सटी अफ टोरन्टोमा प्राध्यापन गर्छन् ।

उनीहरूले १.१ करोड स्वीडिश क्रोनर (८.१० लाख पाउन्ड) नगद पुरस्कार र पदक पाउने छन् । यसअघि पुरस्कार समितिले सोमवार चिकित्साशास्त्रतर्फको पुरस्कार घोषणा गरेको थियो।

अमेरिकी वैज्ञानिकद्वय भिक्टर एम्ब्रोस र ग्यारी रभ्कनले ‘माइक्रोआरएनए’ (microRNA)को आविष्कार र आनुवंशिक प्रणालीको नियमनमा त्यसको भूमिकाका लागि उक्त पुरस्कार पाएका हुन् । नोबेल पुरस्कार समितिका अनुसार बुधबार रसायनशास्त्र, बिहीबार साहित्य, शुक्रबार शान्ति अनि आगामी सोमबार अर्थशास्त्रतर्फ पुरस्कार विजेताको नाम घोषणा हुनेछ ।

‘मशीन लर्निङ’ भनिने विधि एआईको महत्त्वपूर्ण अङ्ग हो। यसले कम्प्युटरलाई सूचना उत्पादन गर्न सक्ने बनाउँछ । अहिले हामीले प्रयोग गर्ने अनेकौँ प्रविधिमा, इन्टरनेट सर्चदेखि फोनमा तस्बिर सम्पादन गर्नेसम्म, यसको प्रयोग भएको हुन्छ ।

रोयल स्वीडिश अक्याडमी अफ साइअन्सेसले यी दुई वैज्ञानिकले गरेको अनुसन्धानको महत्त्वपूर्ण प्रयोगको सूची दिएको छ। त्यसमा जलवायु मोडलिङमा सुधार, सौर्य सेलको विकास र मेडिकल इमेजहरूको विश्लेषण पनि परेका छन्।


प्रतिक्रिया