पुष्पलाल स्मृति दिवसमा ओलीले के भने?
काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवसलाई केवल श्रद्धाञ्जली कार्यक्रमका रूपमा सीमित राखेनन्। उनले त्यसलाई वर्तमान सरकारमाथि तीव्र राजनीतिक आक्रमण गर्ने मञ्चका रूपमा प्रयोग गरे। उनको करिब एक घण्टाको सम्बोधनमा सरकारको कार्यशैली, संविधान, लोकतन्त्र, राजनीतिक दलको भूमिका, सामाजिक सञ्जालको प्रभावदेखि वामपन्थी एकतासम्मका विषय समेटिए।
तर भाषणको एउटा स्पष्ट सन्देशका रुपमा उनले वर्तमान सरकार लोकतान्त्रिक मूल्यमान्यताबाट विचलित भइरहेको छ र त्यसको प्रतिवाद गर्ने जिम्मेवारी कांग्रेस र एमालेको काँधमा भएको बताए।
ओलीले सुरुमै सरकारमाथि प्रतिशोधको राजनीति गरेको आरोप लगाए। आफूलाई ‘निराधार रूपमा पक्राउ गरिएको’ उल्लेख गर्दै उनले एमाले उपाध्यक्ष विष्णु पौडेलमाथि पनि राजनीतिक पूर्वाग्रहका आधारमा कारबाही गरिएको दाबी गरे।
उनले भने, ‘दुनियाँमा कहीँ पनि यस्तो सरकार हुँदैन। मलाई सरकारले निराधार रूपमा पक्राउ गर्यो, विष्णु पौडेलमाथि प्रतिशोध साँध्यो।’ यो अभिव्यक्तिले वर्तमान सरकारलाई लोकतान्त्रिक अभ्यासभन्दा राजनीतिक बदला लिन केन्द्रित रहेको सन्देश दिन खोजेको देखिन्छ।
ओलीको अर्को निशाना सरकारले गरिरहेको संविधान संशोधनको बहस र सरकार सञ्चालनको प्रक्रिया थियो। सरकारले राजनीतिक दलसँग पर्याप्त परामर्श नगरी निर्णय गरेको आरोप लगाउँदै उनले भने, ‘राजनीतिक दलहरूसँग परामर्श गरिएन, दलहरूमाथि झुटा आरोप लगाइयो, अपमान गरियो।’ संविधान संशोधनको बहस चलिरहेका बेला उनले दलहरूको भूमिकालाई कमजोर बनाउने प्रयास भइरहेको दाबी गरे।
ओलीले पछिल्लो समय देखिएको ‘पुराना र नयाँ दल’ को बहसलाई पनि खारेज गरे। उनका अनुसार यो विभाजन राजनीतिक प्रतिस्पर्धाभन्दा समाजलाई टुक्र्याउने रणनीति हो। ‘धर्मका नाममा, जातका नाममा, भूगोलका नाममा नेपालीलाई विभाजन गर्न खोज्दा पनि सफल भएनन्, अहिले नयाँ र पुरानाका नाममा विभाजन गर्न खोजिएको छ,” उनले भने। यस्ता प्रयासले परिवार र समाजमै वैचारिक दूरी बढाउने उनको तर्क थियो।
मन्तव्यमा कांग्रेस-एमाले सहकार्यलाई विशेष प्राथमिकता दिएका ओलीले फेरी कांग्रेस-एमालेले सहकार्य अग्र्नुपरने बेला आएको दाबी गरे । उनले ले लोकतन्त्रको रक्षा, संविधानको संरक्षण र आवश्यक संशोधनको नेतृत्व यी दुई दलले नै गर्नुपर्ने दाबी गरे। उनका अनुसार वर्तमान सरकार आफू, देउवा र प्रचण्डको बदनाम गर्न केन्द्रित रहेको छ। तीन नेताले खाएको नभइ वर्तमान समयसम्म आइपुग्न आफूहरुले अभूतपूर्व संघर्ष गरेको ओलीको भनाइ थियो।
‘२००७, २०३६, २०४६, २०६२/०६३ को आन्दोलनमा को थियो? संविधान बनाउने बेला को थियो? संघर्ष र बलिदान पुराना दलले दिएका हुन्। अब लोकतन्त्र फिर्ता ल्याउने काम पनि एमाले र कांग्रेसले नै गर्छ,’ उनले भने।
अधिकांश समय वर्तमान सरकारको आलोचनामा केन्द्रित रहेका ओलीले सरकारले सामाजिक सञ्जाललाई असामाजिक बनाएको आरोप लगाए। उनले सामाजिक सञ्जालको दुरुपयोग गर्दै भ्रम फैलाउने, नेतामाथि निरन्तर प्रहार गर्ने र समाजलाई असामाजिक बनाउने प्रयास भइरहेको दाबी गरे। ‘एकछिन सामाजिक सञ्जालको दुरुपयोग गरेर भ्रम छर्ने, छाडा बोल्ने र नेतामाथि प्रहार गर्ने प्रवृत्तिमा ध्यान दिनु हुँदैन,’ उनले कार्यकर्तालाई आग्रह गरे।
ओलीले वामपन्थी र लोकतान्त्रिक शक्तिहरूबीच सहकार्यको आवश्यकता दोहोर्याए। वर्तमान राजनीतिक अवस्थालाई उनले लोकतन्त्र र संविधानमाथिको चुनौतीका रूपमा चित्रण गर्दै ‘हामी सबै वामपन्थी-लोकतान्त्रिक शक्तिहरू मिलेर लोकतन्त्र फर्काउन, संविधान जोगाउन र सुशासन पुनःस्थापित गर्न एकजुट हुनुपर्छ,’ भन्ने आह्वान गरे।
