`

बाहिनीपति कपको उपाधि इलामलाई

Nepal One HD १४ फागुन २०८१ २२:५३
खेलकुद

धरान । बाहिनीपति कपको उपाधि सशस्त्र प्रहरीबल नेपाल नम्बर १ गण इलामले जितेको छ ।  सशस्त्र प्रहरीबल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीले आयोजना गरेको उक्त प्रतियोगिताको आज भएको फाइनलमा इलामले सात स्वर्ण, एक रजत, छ कास्य जित्न सफल भएको छ । 

यही फागुन ११ गतेदेखि सुरु भएको खेल आज सम्पन्न भएको हो । प्रतियोगितामा फुटबल, भलिबल, एथलेटिक्स, टेबलटेनिस, सटपुट, ब्याडमिन्टनलगायत खेलहरु सञ्चालन भएका थिए । 
   
     प्रतियोगितामा सात गण र नौ गुल्मका खेलाडीको सहभागिता थियो । प्रतियोगितामा सामूहिक तथा एकल विधातर्फ गरी तीन सय २० खेलाडी सहभागी रहेको सशस्त्र प्रहरीबल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीले जनाएको छ । 

पुरस्कार वितरण समारोहमा सशस्त्र प्रहरी नायब महानिरीक्षक शम्भु सुवेदीले खेलकुदका माध्यमबाट राष्ट्रको गौरव, शान र पहिचान स्थापित गर्न सकिने बताए । उनले भने, “खेलका माध्यमबाट सामूहिक भावनाको विकास गराउने र आफूसँग भएका क्षमताहरुलाई उजागर गर्नका साथै त्यसबाट व्यक्तित्व विकासको अवसर प्राप्त गर्न सकिन्छ ।”

बाहिनिपति कप २०८१ का विजेता टिम तथा खेलाडीहरुलाई विभिन्न गणका गणपतिहरुले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरे । 

समारोहमा सशस्त्र प्रहरी बल नेपाल नं ४ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापा, सशस्त्र प्रहरी बल नेपाल नं १ गण इलामका सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्र सुवेदी, सशस्त्र प्रहरी बल नेपाल नं २ गणका प्रमुख तुला भण्डारीलगायत गण र गुल्मका गणपतिहरुको उपस्थिति रहेको थियो ।

बराह बाहिनी मुख्यालयका नायब महानिरीक्षक शम्भु सुवेदीले विजेता टिम सशस्त्र प्रहरी बल नेपाल नं १ गण इलामलाई ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरे ।


प्रतिक्रिया