`

काठमाडौँ महानगरपालिकाले सुलभ फार्मेसीअन्तर्गतका औषधिका प्रकार र मात्रा अध्ययन गर्ने

Nepal One HD २३ फागुन २०८१ १९:०४
जीवनशैली/स्वास्थ्य

काठमाडौँ, २३ फागुन : काठमाडौँ महानगरपालिकाले सुलभ फार्मेसीअन्तर्गत बिक्री गरिने औषधिका प्रकार र मात्रा अध्ययन गर्ने भएको छ । कामपाका उपप्रमुख सुनिता डङ्गोल र सुलभ औषधि पसल सञ्चालन व्यवस्थापन समितिको बैठकले, बबरमहलस्थित हाल वडा कार्यालय सञ्चालन भइरहेको भवनमा सुलभ फार्मेसी सञ्चालन गर्ने, केन्द्रीय फार्मेसी सञ्चालनका लागि स्थान उपलब्धताका विषयमा छलफल गर्ने, फार्मेसीका लागि आवश्यक औषधिको प्रकार र मात्रा अध्ययन गर्ने निर्णय गरेको हो ।

नागरिकको आधारभूत स्वास्थ्य सेवाअन्तर्गत निःशुल्क औषधि, स्वास्थ्य बिमाअन्तर्गतको औषधि र बिमामा आवद्ध नभएका नागरिकहरुका लागि सर्वसुलभ औषधि तथा औषधिजन्य सामग्रीहरु ‘जेनेरिक फार्मेसी’को अभ्यासअनुसार उपलब्ध गराउनु सुलभ फार्मेसी सञ्चालनको उद्देश्य रहेको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो ।  

औषधि ब्राण्डका आधारमा नभइ औषधिमा भएका तत्वका आधारमा बिरामीलाई औषधि प्रदान गर्ने प्रणाली जेनेरिक फार्मेसी हो । यसलाई व्यवस्थापन गर्न कामपाले विसं २०८१ मा फार्मेसी सञ्चालन नियमन सम्बन्धी निर्देशिका जारी गरेको छ । यही निर्देशिकाअनुसार कामपाले औषधि पसलहरुको नियमन गर्ने भएको हो ।

कामपाका फार्मेसीहरु सञ्चालन व्यवस्थापन गर्न गराउन उपप्रमुखको संयोजकत्वमा चार सदस्यीय समिति गठन भएको छ । समितिमा प्रमुख प्रशासकीय अधिकृत र फार्मेसी विज्ञमध्येबाट प्रमुखले मनोनयन गरेको विज्ञ सदस्य हुनुहुन्छ भने स्वास्थ्य विभागको प्रमुख सदस्य सचिव हुनुहुन्छ ।    कामपाले एउटा केन्द्रीय फार्मेसी र अन्य पाँच ठाउँमा फार्मेसी सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया