`

सुनचाँदीको अवैध कारोबार गर्ने भारतीय गिरोह पक्राउ

Nepal One HD ३ वैशाख २०८२ १९:४४
अपराध

काठमाडौं । प्रहरीले अवैध सुन र चाँदी जस्तो देखिने धातु र नगदसहित नौ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । काठमाडौँका विभिन्न स्थानहरुमा सुन तथा चाँदीको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौँ र प्रहरी वृत्त बौद्वबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको महारष्ट्रका वर्ष ३० को नबनाथ बाकु कसीद, वर्ष २० को सन्दीप पोपट हजारे, वर्ष २२ को अन्सार दिलावर सिकल्गार, वर्ष १८ को सुरज राजेश मदने, वर्ष २१ को अरमान हनिफ ईनामदाय,वर्ष २२ को मनोज सुभाष सकट, वर्ष ३८ को अमोल कुमार गोस्ले, वर्ष २० को सुनिल मिटकरी र वर्ष २० को सुरज नन्दीवाली रहेका छन् ।

सुन रिफाइनिङ एण्ड टंच सेन्टरहरूमा खानतलासी गर्दा एक किलो ७६.५१८ ग्राम सुन र १ किलो ८४५.४२९ ग्राम चाँदी बरामद भएको प्रहरीले जनाएको छ ।

सुनको मूल्य एक करोड ७० लाख १० हजार ६० रुपैयाँ तथा चाँदीको मूल्य ३० लाख ९ हजार ९१ रुपैयाँ रहेको छ। यस्तै उनीहरूको साथबाट नेपाली रुपैयाँ ८ लाख २७ हजार ५ सय र भारु ११ हजार ७ सय रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया