`

“पोप फ्रान्सिसजस्तो महान् आत्मालाई चिन्ने अवसर पाउनु मेरो जीवनको सौभाग्य ”

Nepal One HD ९ वैशाख २०८२ ८:२८
विश्व

क्याथोलिक धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा भएको निधनले संसारभर शोकको लहर फैलिएको छ । अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प, पूर्वराष्ट्रपति जो बाइडेन तथा अन्य उच्चपदस्थ नेताहरूले अत्यन्तै सम्मानका साथ उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मा छोटो तर भावुक सन्देश लेख्दै पोपप्रतिको श्रद्धा प्रकट गर्नुभयो । “पोप फ्रान्सिसको आत्माले चिर शान्ति पाओस् । ईश्वरले उहाँ र उहाँप्रति प्रेम गर्ने सम्पूर्णलाई आशिष दिऊन् ।”

पूर्वराष्ट्रपति राष्ट्रपति जो बाइडेनले पोपलाई ‘समयका सबैभन्दा प्रभावशाली र प्रेरणादायी धर्मगुरु’ को रूपमा स्मरण गर्दै लेख्नुभयो, “पोप फ्रान्सिसजस्तो महान् आत्मालाई चिन्ने अवसर पाउनु मेरो जीवनको सौभाग्य हो ।” उहाँले पोपसँगको सम्झनात्मक तस्बिरसहित श्रद्धाञ्जली सन्देश सामाजिक सञ्जाल ‘एक्स’ मार्फत साझा गर्नुभयो ।

अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले पनि पोपप्रतिको श्रद्धा प्रकट गर्दै भन्नुभयो, “हामी सम्पूर्ण क्याथोलिक समुदायसँग एकतामा रहँदै दिवङ्गत धर्मगुरुको चिरशान्तिको लागि प्रार्थना गर्दछौं ।”

अमेरिकी कांग्रेसका वरिष्ठ नेताहरूले पनि गहिरो सम्मान प्रकट गरेका छन् । डेमोक्रेटिक सिनेटर चक स्चुमरले भन्नुभयो, “पोप फ्रान्सिसको गरीब, पीडित र बंचितप्रतिको करुणामय व्यवहारले उहाँको धर्मगुरुत्वलाई आशा र उज्यालोको प्रतीक बनाएको छ । उहाँको स्मृति सदैव अमर रहनेछ ।”

प्रतिनिधिसभाका डेमोक्रेटिक नेता हाकिम जेफ्रीजले पोप फ्रान्सिसको सेवा भाव र विनम्रताप्रति श्रद्धा व्यक्त गर्दै भन्नुभयो, “उहाँले गरिब र असहायहरूको सेवा गर्नुभएको कार्य अत्यन्तै प्रेरणादायी छ । सन् २०१५ मा अमेरिकी संसदलाई दिनुभएको सम्बोधन दलबन्दीभन्दा माथि उठेको ऐतिहासिक क्षण थियो ।”

विश्वका अन्य नेताहरू जस्तै, अमेरिकाका नेताहरूले पनि पोप फ्रान्सिसको आध्यात्मिक नेतृत्व, मानवीय सेवा र अन्तरधार्मिक सद्भावका लागि समर्पित जीवनप्रति गहिरो सम्मान प्रकट गर्दै उहाँको अनुपम योगदान सधैं स्मरणीय रहने बताएका छन् ।


प्रतिक्रिया