काठमाडौंको तीनकुने घटनामा संलग्न भएको आरोपमा ६१ जनाविरुद्ध मुद्दा दर्ता


काठमाडौं । चैत १५ मा काठमाडौंको तीनकुने घटनाका संलग्न भएको आरोपमा जिल्ला अदालत काठमाडौंमा ६१ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
आइतबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले ६१ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख रामहरि शर्मा काफ्लेले ६१ प्रतिवादीविरुद्ध अभियोजन भएको जानकारी दिए ।
बाँकी चार नाबालक प्रतिवादीविरुद्ध सोमबार मुद्दा दायर हुने उनले जानकारी दिए । आपराधिक उपद्रव र संगठित अपराधको कसुरका ३० जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । अन्य ११ जनालाई आपराधिक उपद्रवमा मात्रै छुट्टै मुद्दा दायर गरिएको छ।
यस्तै दुर्गा प्रसाईंसहित ८ जनालाई भने कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा पनि प्रतिवादी बनाइएको छ । प्रसाईंलाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, हत्या, सङ्गठित अपराध, ज्यान मार्ने उद्योग र एकीकृत कसुरमा सजायको माग दाबी गर्दै मुद्दा दर्ता भएको छ ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणालाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा प्रतिवादी बनाइएको छ ।
चैत १५ तीनकुनेमा भएको प्रदर्शनमा पत्रकार सुरेस रजक र कीर्तिपुरका सविन महर्जनको प्रहरीको गोली लागि ज्यान गएको थियो ।