दुई दलको निष्कर्षः गृहमन्त्रीमाथिको आलोचना नाजायज


काठमाडौँ । सत्तारुढ कांग्रेस र एमालेले भिजिट भिसा प्रकरणमा कर्मचारीको बदमासीलाई लिएर गृहमन्त्री रमेश लेखकमाथि भइरहेको आलोचना जायज नभएको निष्कर्ष निकालेको छ ।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दलका शीर्ष नेताको बैठकले गृहमन्त्रीमाथिको आलोचना जायज नभएको निष्कर्ष निकालेको हो ।
कुनै कर्मचारीले बदमासी गर्छ भने मन्त्रीमाथि प्रश्न उठाउने कुरा हुँदैन भन्ने विषयमा छलफल भएको छलफलमा सहभागी एक नेताले जानकारी दिए ।ती नेताले भने, ‘कर्मचारीले कहाँ कस्तो गल्ती गर्छ तर हचुवामा गृहमन्त्रीलाई मुछिनु अनावश्यक हो ।’
बैठकमा प्रधानमन्त्रीले हचुवामा राजीनामा गराइहाल्ने र दिइहाल्नु नपर्ने बताए । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा, कृषिमन्त्री रामनाथ अधिकारी सहभागी थिए ।