सभामुख-सचेतक छलफलः गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् बैठक चल्न नदिने विपक्षीको अडान यथावत


काठमाडौं । संसदको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकहरुसँगको छलफल निष्कर्षविहीन भएको छ ।
छलफलमा सत्तापक्ष र प्रतिपक्ष आ–आफ्नो अडानबाट पछि नहटेपछि बैठक निष्कर्षविहीन भएको हो । बैठकमा प्रतिपक्षले गृहमन्त्रीको राजीनामा नदिइ संसद चल्न नदिने अडान लिएको थियो । त्यस्तै सत्तापक्षले गृहमन्त्रीलाई संसदमा बोल्नदिनुपर्ने अडान राखेको थियो ।
तर सत्तापक्षको मागमा प्रतिपक्षी सहमत नभएपछि बैठक निष्कर्षविहीन भएको हो । छलफलमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसिया पनि सहभागी थिए । मंगलबार पनि प्रतिनिधिसभा बैठक बस्न सकेको थिएन । दुई पटक सूचना टाँसेर बस्दै नबसी बुधबारसम्मका स्थगित भएको थियो ।
आज दिउँसो १ बजेका लागि बैठक बोलाइएपनि बैठक बस्न सकेको छैन । सचेतकहरुसँगको बैठकअघि सभामुखले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा लगायतका दलका प्रमुख सचेतसँग पनि छलफल गरेका थिए । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने विपक्षी दलको माग छ भने सत्तापक्ष त्यसमा तयार छैन ।