माधव नेपालमाथि राजनीतिक प्रतिशोध साँधियोः एकीकृत समाजवादी


काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारले राजनीतिक प्रतिशोधको आधारमा पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि मुद्दा चलाएको आरोप लगाएको छ ।
बिहीबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै पाण्डेले पार्टी अध्यक्ष नेपालले पतञ्जलि जग्गा प्रकरणमा जग्गा खरिद बिक्री प्रकरणमा भ्रष्टाचारसँग जोडिने कुनै अपराध नगरेको दाबी गरे ।
उनले जेठ २८ गतेभित्र अख्तियारलगायत सबै संवैधानिक निकायहरूको म्याद सकिने फैसला हुनुअघि प्रतिशोध साँधिएको बताए ।
उनले भने, ‘यतिबेला यो घटना जन्मनु, जेठ २८ गतेभित्र अख्तियारलगायत सबै संवैधानिक निकायहरूको म्याद सकिने फैसला पनि हुनु अनि यही छोटो अवधिमा के–के गर्नुपर्ने गरिभ्याउनुपर्ने बाध्यता भएकाले नै यो सबै भएको हो कि जस्तो लाग्छ । यो राजनीतिक प्रतिशोध नै हो ।’
उनले गिरिबन्धुमा पनि यस्तै नीतिगत निर्णय भएको भन्दै नीतिगत निर्णयलाई यसैगरी भ्रष्टाचार हो भन्दै मुद्दा लगाउने हो भने संसदमा रहेका धेरै मान्छेहरू बिदा हुने बताए ।
अख्तियारले पतञ्जलि योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जग्गा अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबीसहित बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।