`

‘नारायणघाट–बुटवल सडकअन्तर्गत दाउन्ने खण्डको समस्या समाधानउन्मुख छ’ : मन्त्री पौडेल

Nepal One HD ३० असार २०८२ १८:०३
राजनीति

काठमाडौँ, ३० असारः भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र पौडेलले नारायणघाट–बुटवल सडकअन्तर्गत पर्ने दाउन्ने खण्डको समस्या समाधानउन्मुख रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदले राख्नुभएका जिज्ञासाको जवाफ दिँदै उहाँले अब उक्त क्षेत्रमा ठूलो पानी परेर समस्या नभएमा सडक निर्बाध सञ्चालनमा आउने बताउनुभयो । अब चाँडै त्यो क्षेत्रमा यात्रुले दुःख भोग्नुपर्ने समस्याको अन्त्य हुने मन्त्री दाहालले आश्वस्त पार्नुभयो । उहाँले सो क्षेत्रमा सडक निर्माण गर्ने क्रममा एकतर्फ सवारीसाधन सञ्चालन गरी काम गर्ने क्रममा ट्राफिक जाम हुन पुगेको बताउनुभयो ।

“एसियाली विकास बैंकको ऋण सहयोगमा नारायणघाट–बुटवलखण्ड ११३ किलोमिटर सडक स्तरोन्नतिको कामलाई पूर्व तथा पश्चिम गरी दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ । हालसम्म ६४ प्रतिशत भौतिक प्रगति भएको छ”, मन्त्री पौडेलले भन्नुभयो ।

उहाँले यातायात क्षेत्रलाई चुस्त बनाउन प्राथमिकताका आधारमा सडक निर्माण कार्र्यलाई तीव्रता दिएको पनि उल्लेख गर्नुभयो । मन्त्री पौडेलको भनाइ थियो,“बढी आवागमन हुने क्षेत्र, जनताका उत्पादनको बजार पहुँच र त्रिदेशीय सम्बन्धलाई स्थापित गर्ने क्षेत्रलाई प्राथमिकतामा राखेर काठमाडौँसँग जोडिएका सडक विस्तारको काम भइरहेको छ ।”

उहाँले मातहतको मन्त्रालयअन्तर्गत नेपाल निर्माण व्यवसायी विकास परिषद् र देशमा दर्ता भएका ‘क’ वर्गका ३४८ वटा कम्पनी रहेको बताउनुभयो । समयमा निर्माण सम्पन्न गर्न नसक्ने व्यवसायीको ठेक्का अन्त्य गरी नियमअनुसार कालोसूचीमा राख्न सिफारिस गर्ने गरिएको मन्त्री पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “विसं २०८१ असोज महिनासम्म सडक विभागको करिब रु २३० अर्ब कूल ठेक्का दायित्व रहेको छ । चालु आव २०८१/०८२ को असार मसान्तसम्म निर्माण सम्पन्न भएका आयोजनाको भुक्तानी छिनोफानो गर्ने गरी बजेटको व्यवस्था भइरहेको छ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *