लिपुलेकबारे भारत र चीनको व्यवहारप्रति युवा संघको आपत्ति, भूमिको रक्षा गर्न जुनसुकै कदम चाल्न तयार


काठमाडौँ । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले भारत र चीनबीच हालै लिपुलेक मार्ग हुँदै व्यापार सञ्चालन गर्ने गरी भएको सहमतिप्रति विरोध जनाएको छ।
बिहिवार युवा संघ नेपालका कार्यवाहक अध्यक्ष महाराज गुरुङले विज्ञप्ति जारी गर्दै नेपालको भुमिको रक्षाका निम्ति जुन सुकै कदम पनि चाल्न तयार भएको बताए ।
गुरुङले जारी गरेको विज्ञप्तिमा ऐतिहासिक अभिलेख, तथ्य, प्रमाण र नक्साका आधारमा कालापानी-लिपुलेक-लिम्पियाधुरा क्षेत्र नेपालको भूमि भएको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संलग्नता र सहमति बिना दुई छिमेकी मित्र राष्ट्रहरूले यस क्षेत्रमा कुनै पनि गतिविधि गर्नु नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको प्रत्यक्ष उल्लङ्घन हो जुन अस्वीकार्य छ ।
यसअघि पनि सन् २०१५ मा भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच यसैप्रकारको सहमति हुँदा समेत नेपाललाई संलग्न नगरिएको तथ्य विद्यमान छ । भारतले २०२० मा लिपुलेक हुँदै सडक निर्माण गरेको घटनाले नेपालभित्र व्यापक असन्तोष निम्त्याएको स्मरणीय छ ।’
सरकारले निरन्तर कूटनीतिक विरोध र वार्ताको माध्यमबाट आफ्ना दाबीहरू प्रस्तुत गर्दै आएको उल्लेख गर्दै पुनः नेपाललाई बेवास्ता गरेर नेपाली भूमिको प्रयोग सम्बन्धी सहमति गरिनु मित्रतापूर्ण छिमेकी सम्बन्ध र आपसी विश्वासको भावनाको विपरीत भएको उल्लेख छ।
‘हामी नेपाल सरकारलाई यसबारे तत्काल कूटनीतिक पहल गर्न र राष्ट्रिय हित, भौगोलिक अखण्डता र सार्वभौमसत्ताको पक्षमा दृढतापूर्वक उभिन आग्रह गर्दछौं ।
राष्ट्रिय युवा संघ नेपाल नेपालको संविधान, ऐतिहासिक अभिलेख र जनभावनाअनुसार आफ्नो भूमिको रक्षा गर्न निरन्तर सचेत र प्रतिबद्ध छ र यसका लागि आवश्यक जुनसुकै कदम चाल्न तयार रहेको समेत जानकारी गराउँदछौँ ।’