रुवी हत्या प्रकरण : आरोपी लक्ष्मण पासवान जलेको अवस्थामा पक्राउ


हेटौँडा । रुवी साह हत्या काण्डमा संलग्न रहेको आरोप लागेका लक्ष्मण पासवानलाई प्रहरीले पक्राउ गरेको छ। घटनापछि खोजतलासमा जुटेका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक राजु कार्की नेतृत्वको टोलीले मुख्य आरोपितलाई पक्राउ गर्न सफल भएको हो ।
पक्राउ पर्नेमा जिल्लाको माधव नारायण नगरपालिका वडा नम्बर ६ बस्ने लक्ष्मण पासवान रहेका छन् । उनी रुबीसँग प्रेम सम्बन्धमा रहेकाे प्रहरी काे भनाइ छ ।
पासवानलाई जलेर घाइते अवस्थामा माधोपुर गाउँदेखि मानपुर बिसुनपूर्वा जाने बाटो नहरको छेउबाट नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
गएको शनिबार राति रुवीको शव गौर नगरपालिका-९ मा पर्ने गौर–सिरसिया सडकखण्डस्थित दिव्यज्योति स्कुलको गेट नजिकै सुटकेसमा फेला परेको थियो।
पासवानले रुविको शव फाल्नका लागि रिक्सा भाडामा लिएको र गन्तव्यतर्फ जाँदै गर्दा रिक्सा बिग्रिएपछि शव सडकमै फालेर उनी फरार भएका प्रहरीको भनाई छ।
शव फाल्नको लागि प्रयोग भएको ई–रिक्साका चालक गौरका लक्ष्मण महरालाई यसअघि नै प्रहरीले पक्राउ गरेको थियो।
रुवीकाे हत्या आराेपमा पक्राउ परेका पासवान केही समयअघि मात्रै मलेसियाबाट नेपाल फर्किएको पाइएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको डीएसपी कार्कीले बताए।