विदेश गएर पसिना बगाउँदा आम्दानी भए पनि खर्च र परिश्रम बढी हुने गुप्ताको अनुभव छ । स्वदेशमा पसिना बगाउँदा आम्दानीसँगै सम्मान पनि पाइने उनले बताए । च्याउ बिक्रीका लागि बजारको कमी नभएको बताउँदै गुप्ताले धरान, इटहरी, इनरुवा, दुहबी, गाईघाट, राजविराज, कल्याणपुरसहित बराहक्षेत्र, चतरा, स्थानीय बजार कालाबजारसम्म उत्पादन पुग्ने गरेको जानकारी दिनुभयो । खेती विस्तारसँगै परिवारका सदस्यले काम पाएका भन्दै दुई जनालाई मासिक तलबमा र सात जनालाई दैनिक ज्यालादारीमा रोजगारी दिएको उनले उल्लेख गरे ।
“व्यवसाय भएकाले घाटानाफा हुन्छ । तर कम जग्गामा पनि च्याउखेती गर्न सकिन्छ, यसका लागि मेहनत र स्याहार आवश्यक पर्दछ”, गुप्ताले भने । उनका अनुसार चैतमा लगाइएको च्याउ वैशाख अन्तिमदेखि टिप्न योग्य हुन्छ भने वर्षमा करिब नौ महिना उत्पादन दिन्छ ।
सुरुमा कृषिसम्बन्धी ज्ञान र प्रविधिको कमीले समस्या खेप्नुपरेको बताउँदै गुप्ताले अहिले अनुभव बढ्दै जाँदा उत्पादन र आम्दानी दुवै बढेको उल्लेख गरे । “सुरुमा सबै परीक्षणजस्तो लाग्थ्यो, अहिले सीप विकाससँगै व्यावसायिक बन्दै गएपछि प्रशस्त सम्भावना देखिएको छ”, उनले भने ।
च्याउखेतीका लागि पराल, चुन, बाँस, खर र प्लास्टिक आवश्यक पर्ने उनले बताए । विषादी प्रयोग नहुने भएकाले यो स्वास्थ्यका लागि लाभदायी हुने भन्दै उनले ‘अग्र्यानिक’ च्याउको माग निरन्तर बढ्दै गएको धारणा राखे । उनका अनुसार च्याउ भदौ–असोजमा बढी बिक्री हुन्छ । गुप्ताले विसं २०८० मा सुनसरी कृषि ज्ञान केन्द्रबाट रु एक लाख, बराहक्षेत्र नगरपालिकाबाट गत वर्ष रु ९० हजार अनुदान पाएका थिए । यस वर्ष नगरपालिकाबाट ५० प्रतिशत अनुदानमा मिनिट्याक्टर पाएपछि खेती गर्न थप सहज भएको उनको भनाइ छ ।