`

धमाधम बन्द हुने थाले सामाजिक सञ्जाल

Nepal One HD २० भदौ २०८२ ६:४६
विज्ञान-प्रविधि

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनीले सरकारको निर्देशनअनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय पारेका छन् । नेपाल टेलिकम, एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको पत्रपछि दर्ता नभएका सामाजिक सञ्जाल देशभर निष्क्रिय पारेका हुन् ।

नेपाल टेलिकमले एक सूचनामार्फत नेपालमा सूचीकरण नभई सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय गराउन पत्र लेखी आएकाले सोही निर्देशनबमोजिम त्यस्ता सामाजिक प्लेटफर्म हालका लागि बन्द गरिएको जनाएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले फेसबुक बन्द गरेको हो ।

अहिले वर्ल्डलिंकको आईपी एड्रेसबाट फेसबुक चल्न छाडेको छ । वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले सरकारको निर्देशन अनुसार फेसबुक बन्द गरेको जानकारी दिए । इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष सुधिर पराजुलीले प्रक्रिया सुरु भइसकेको र सबै इन्टरनेट प्रदायकबाट बन्द हुनका लागि भने केही समय लाग्ने बताए । ‘सरकारबाट आएको निर्देशन अनुसार सामाजिक सञ्जाल बन्द गर्ने प्रक्रिया अघि बढिसक्यो । विस्तार बन्द हुँदै जान्छन्,’ उनले भने ।

प्राधिकरणको पत्र र सर्वोच्च अदालतको आदेश, नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबमोजिम टेलिकमले उक्त निर्णय गरिएको टेलिकमले जनाएको छ ।

एनसेलले पनि सरकारको निर्देशनअनुसार आफ्नो नेटवर्कमा नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गरिएको जनाएको छ । प्राधिकरणले बिहीबार पत्राचार गर्दै विभिन्न २६ वटा सामाजिक सञ्जाल निष्क्रिय गराउन आग्रह गरेको थियो । त्यसमा फेसबुक, म्यासेन्जर, इन्टाग्राम, युट्युब, ह्वाटसएपलगायत सामाजिक सञ्जाल छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *